नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नारायणी नदीबाट ल्याएको अज्ञात ‘वस्तु’ पड्किँदा दुई जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–३ ब्रम्हस्थानमा आज दिउँसो अज्ञात वस्तु पड्किँदा दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी अनिल पण्डितकाअनुसार जिल्लाको अमलटारीस्थित नारायणी नदीमा भेटाएर स्थानीय एकासी बोटेले घर ल्याएको वस्तु पड्किएको हो । उक्त अज्ञात वस्तु पड्किँदा ४९ वर्षीय एकासी बोटे र भारतको मोतिहारी घर भई कावासोती बस्दै आएका कवाडी सामान सङ्कलन गर्ने २८ वर्षीय सचिन कुमार घाइते भएका पण्डितले जानकारी दिनुभयो । पण्डितकाअनुसार बोटेको दुवै हातको हत्केलामा गहिरो चोट तथा सचिन कुमारको बायाँ हातको हत्केलामा गहिरो चोट तथा बायाँ आँखामा चोट लागेको छ ।
“बाहिरी भागमा डोरी जस्तो वस्तुले बेरिएको, भित्री भागमा फलाम जस्तो भएको बेलनाकार वस्तु फेला पारेपछि बोटेले घरमा ल्याउनुभएको रहेछ” पण्डितले भन्नुभयो, “बोटे र कवाडी सङ्कलक मिलेर हेक्सा ब्लेडले उक्त बस्तु काट्ने क्रममा अचानक पड्किएपछि दुवै जना घाइते हुनुभएको हो ।” घाइते दुवैलाई तत्काल उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल पु¥याइ सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रेफर गरी उपचार भइरहेको पण्डितले बताउनुभयो ।
पण्डितले कुनै पनि स्थानहरुमा अज्ञात चिज वस्तुहरु फेला परेको अवस्थामा उक्त वस्तु समात्ने, खेलाउने तथा घरमा ल्याउने कार्य नगर्न जिल्लावासीलाई आग्रह गर्नुभयो । शङ्कास्पद वस्तु फेला परेमा यथाशीघ्र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्दै सम्भावित दुर्घटनाबाट जोगिनसमेत उहाँले अनुरोध गर्नुभयो ।





प्रतिकृया दिनुहोस्