नवलपुर । नेपालीहरुको महान् चाड बडादसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लाका पूर्वी र पश्चिम नाकामा सुरक्षा सतर्कता उच्च पारिएको छ । विशेष गरी पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनलाई नवलपुरबाट बाहिरिने र नवलपुर भित्रिने पूर्वतर्फको मुख्य नाका गैँडाकोटमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । चाडपर्वको समयमा हुनसक्ने विस्फोटक पदार्थ तथा लागु पदार्थको अवैध ओसारपसारसहित अन्य अवाञ्छित र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको पण्डितले बताए ।
चाडपर्वको समयमा आपराधिक गतिविधि बढी हुने सम्भावना रहने भएकाले प्रहरीले चलाएको चाडपर्व लक्षित विशेष सुरक्षा योजनाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न ठूलो सहयोग पु¥याउने पण्डितको भनाइ छ । प्रहरीले विभिन्न स्थानमा ‘सरप्राइज चेक’ गर्ने गरेको भन्दै उनले फरक फरक दिन र फरक स्थानमा फरक तरिकाले सवारीसाधन जाँच गर्दै आएको जानकारी दिए । नवलपुर क्षेत्र भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एक मात्र जिल्ला भएको र यहाँ तराईका साथै पहाडी भूभाग पनि रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चाडपर्व लक्षित सुरक्षा योजना कडाइका साथ लागू गरिएको उनले बताए ।
चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअनुसार मङ्गलबार जिल्लाको गैँडाकोट नगरपालिका क्षेत्रमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोलीले सवारीसाधनको विशेष जाँच गरेको छ । जिल्लाको पूर्वी नाकाबाट भित्रिने र बाहिरिने सवारीसाधनलाई मध्यनजर गर्दै तालिम प्राप्त कुकुरसहित प्रहरीले सूक्ष्म रूपमा सवारीसाधन जाँच गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए । विस्फोटक पदार्थ तथा लागु पदार्थ सम्बन्धी विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोलीले हरेक सवारीसाधन र यात्रुको सामान सूक्ष्म ढङ्गबाट जाँच गरिरहेको गिरीले जानकारी दिए ।
प्रहरीले गर्ने सवारीसाधन जाँच आम नागरिककै सुरक्षाका लागि भएकाले यसलाई असहज नमान्न र सहज रुपमा लिनका लागि गिरीले यात्रुहरुसँग आग्रह गरे । प्रहरीले सुरक्षा सतर्कता बढाउँदा नागरिकलाई नै सहज र सुरक्षित हुने बताउँदै उनले सोमबार मात्र भोटेकोशी बाढीले बगाएर ल्याएको वस्तु पड्किँदा जिल्लामा तीन जना घाइते भएको उदाहरण दिए । समाजमा हुने उच्छृङ्खल गतिविधि तथा सामाजिक विकृति न्यूनीकरणमा प्रहरीको प्रयाससँगै सर्वसाधारण र समुदायको समेत भूमिका उत्तिकै महत्वपूर्ण हुने गिरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार प्रहरीको नियमित र कडा जाँचका कारण समाजमा हुने विकृति, विसङ्गति, मादक पदार्थ सेवन (मापेसे) गरी सवारीसाधन चलाउने कार्य तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्नेछ । गण्डकी प्रदेशको तराईको एक मात्र र पूर्वपश्चिम राजमार्गमा पर्ने प्रदेशकै प्रमुख प्रवेशद्वार भएकाले पनि सुरक्षा संवेदनशीलताका हिसाबले नवलपुरलाई प्रहरीले उच्च निगरानी र सतर्कतामा राखेर सुरक्षा तैनाथी बढाएको जनाइएको छ ।





प्रतिकृया दिनुहोस्