एआईबाट तयार पारिएको तस्बिर ।
नवलपुर । नवलपुरमा गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने महिलाहरुको सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क अध्ययन गर्दा यो सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको पाइएको हो ।
कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंकाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा गर्भवती भएका महिलाहरुमध्ये पहिलो पटक गर्भ जाँच गराउनेको सङ्ख्या ८० प्रतिशत पुगेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०८०/०८१ मा ६० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७७ दशमलव पाँच प्रतिशत पुगेको थियो ।
पहिलो पटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या बढेको भए पनि आठ पटक गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा भने कमी आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा आव २०८०/०८१ मा ५६ दशमलव ८ प्रतिशत महिलाले आठ पटक गर्भ जाँच गराएकामा आव २०८१/०८२ मा ४५ दशमलव ५ प्रतिशत तथा आव २०८२/०८३ मा ४६ दशमलव ५ प्रतिशतमा झरेको चापागाईंले बताउनुभयो । त्यस्तै, प्रोटोकलअनुसार चार पटक गर्भ जाँच गराउने गर्भवतीहरु आव २०८०/०८१ मा ७७ दशमलव ४ प्रतिशत रहेकोमा आव २०८२/०८३ मा ६० दशमलव ८ प्रतिशतमा झरेको चापागाईंले जानकारी दिनुभयो ।
जिल्लामा संस्थागत (स्वास्थ्य संस्थमा) सुत्केरी हुने गर्भवतीहरुको सङ्ख्यामा समेत कमी आएको छ । आव २०८०/०८१ मा २४ दशमलव ४ प्रतिशत गर्भवती संस्थागत सुत्केरी भएकामा आव २०८१/०८२ मा २४ दशमलव ३ प्रतिशत तथा आव २०८२/०८३ मा २१ दशमलव १ प्रतिशत गर्भवती संस्थागत सुत्केरी भएका चापागाईंले बताउनुभयो ।
संस्थागत सुत्केरी गराउने गर्भवतीहरुमध्ये दक्ष प्रसूतिकर्मी वा दक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा प्रसूति गराएकामध्ये जन्मको प्रतिशत भने बढेको छ । संस्थागत सुत्केरी भएकामध्ये आव २०८०/०८१ मा ९७ दशमलव ७ जीवित शिशु जन्म भएकोमा आव २०८२/०८३ मा ९८ दशमलव ९ प्रतिशत पुगेको चापागाईंले बताउनुभयो ।
संस्थागत प्रसूतिमा शल्यक्रियामार्फत प्रसूति गराउने महिलाहरुको प्रतिशत जिल्लामा बढेको चापागाईंको भनाइ छ । चापागाईंकाअनुसार संस्थागत प्रसूति गराउनेमध्ये आव २०८०/०८१ मा १ दशमलव ६ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएकोमा आव २०८१/०८२ मा १ दशमलव ७ प्रतिशत तथा आव २०८२/०८३ मा ३ दशमलव १ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।
चापागाईंले आर्थिक वर्ष २०८०/०८१ देखि आव २०८२/०८३ सम्म मातृ स्वास्थ्य सेवाका सूचकहरुमा समग्र सुधार भएको दाबी गर्नुभयो । सबै सूचकहरुको अध्ययन गर्दा मातृ स्वास्थ्य सेवाका सूचकहरुमा सुधार भएको उहाँको भनाइ छ ।
चापागाईंले जिल्लास्तरमा पहिलो पटक गर्भ जाँचको अवस्था सुधारोन्मुख रहे पनि चार तथा आठ पटकको गर्भ जाँचमा कमी देखिएको बताउनुभयो । स्थानीय तहहरुमध्ये बुलिङटार, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा समग्र प्रगति तुलनात्मक रुपमा राम्रो रहेको भन्दै चापागाईंले गैँडाकोट र देवचुली नगरपालिकामा केही सूचकहरु कमजोर रहेको बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामा निःशुल्क प्रसूति सेवाका साथै स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई यातायात खर्च वापत तराईमा रु एक हजार, भित्री मधेसमा रु दुई हजार तथा हिमाली क्षेत्रमा रु तीन हजार उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै जिल्लामा प्रतिहजार प्रसूतिमध्ये नवजात शिशु मृत्युको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा आव २०८०/०८१ मा नवजात शिशु मृत्यु ११ जना रहेकोमा आव २०८२/०८३ मा नवजात शिशु मृत्यु सङ्ख्या १३ पुगेको चापागाईंले बताउनुभयो । यो सङ्ख्या अघिल्लो आव २०८१/०८२ मा १२ जना रहेको थियो । यद्यपि मातृ मृत्युमा भने खासै परिवर्तन नभएको भन्दै चापागाईंले आव २०८०/०८१ मा २, आव २०८१/०८२ मा १ तथा आव २०८२/०८३ मा मातृ मृत्युको सङ्ख्या प्रतिहजारमा २ जना रहेको चापागाईंको भनाइ छ ।





प्रतिकृया दिनुहोस्