चितवन, ३१ साउन । चितवनको साइराम डेण्टल केयरले निःशुल्क डेण्टल इम्प्लान्ट गर्ने भएको छ । अजय एण्ड सरु फाउण्डेशन र बायोहोराइजनको सहयोगमा दश जनालाई निःशुल्क डेण्टल इम्प्लान्ट गरिने केयरले शनिबार भरतपुरमा पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ ।
फाउण्डेशनका अध्यक्ष डाक्टर अजय न्यौपानेका अनुसार अति विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ । उपचार महँगो भएकाले आर्थिक रुपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उहाँले बताउनुभयो । ‘आर्थिक रुपमा कमजोर भएका मानिसलाई यो उपचार सहज छैन । एउटा दाँत राख्न नै एक लाख रुपैयाँसम्म लाग्छ’ न्यौपानेले भन्नुभयो ‘सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिएपनि केही मानिसलाई मुस्कान दिन यो कार्यक्रम ल्याएका छौँ ।’
उहाँका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउण्डेशनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समुहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्न करिब एक लाख रुपैयाँ लाग्ने जनाइएको छ । यसरी हेर्दा १२ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने उहाँले बताउनुभयो । एउटा दाँत राख्नका लागि कम्तिामा तीन महिना लाग्ने डा.न्यौपानेले जानकारी दिनुभयो ।
साइराम डेण्टल केयर सेन्टरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेष गरि बायोहोराइजन प्रविधि मार्फत दुई वर्षदेखि प्रत्यारोण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस प्रविधि नेपाली मानिसका लागि धेरै सहज हुने उहाँले बताउनुभयो ।
डाक्टर दम्पतीले फाउण्डेशन सञ्चालन गरेर विभिन्न सामाजिक काम गर्दै आएका छन् । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरणदेखि विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरणसम्मको काम फाउण्डेशनले गर्दै आएको छ ।





प्रतिकृया दिनुहोस्