चितवन, ६ भदौ । आजदेखि तीन फरक विधाका नेपाली चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ देशभर प्रदर्शनमा आएका छन्। चलचित्रकर्मीले यी फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
‘माग्ने राजा’ मा हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ शीर्ष भूमिकामा छन्। उनले आफूलाई नै हेरेर लेखिएको पात्र भएको बताउँदै, “यो चलचित्र गहन विषय उठाउने प्रयास हो,” भने। वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारको अभिनय रहेको चलचित्र ऋषि लामिछानेले निर्देशन गरेका हुन्।
‘ताराहरू’ किशोर मनोविज्ञान र मानसिक स्वास्थ्यमा केन्द्रित चलचित्र हो। निर्देशक आशान्त शर्माले रंगमञ्चमा मञ्चन गरिएको नाटक ‘साथी, साथी आइदेऊ न’ लाई चलचित्रमा रूपान्तरण गरेका हुन्। शर्मासहित मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।
‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा अभिनेता विजय बराल मुख्य भूमिकामा छन्। निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा बरालले बुबाको सपना पूरा गर्ने पात्र निर्वाह गरेका छन्। केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनालीलगायत कलाकारको अभिनय रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
तीनै चलचित्रले नेपाली समाजका विविध पक्ष उजागर गर्दै दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेका छन्।





प्रतिकृया दिनुहोस्