देवघाट, ७ भदौ । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लाष्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान सञ्चालन गरिएको छ । नवलपुरको गैँडाकोटमा रहेको सहमति संस्थासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले अभियान सञ्चालन गरेको हो ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहोर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्नका लागि अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्रभित्र प्लाष्टिकलाई निरुत्साहन गर्नका लागि अभियानसँगै कपडाको झोला वितरण सुरु गरिएको बताउनुभयो । देवघाट स्नान गर्न आउने तीर्थालुहरुले प्लाष्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छोड्दा यसले पर्यावरणमा समेत असर पुर्याएकोले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको बरालको भनाइ छ ।
नवलपुर, तनहुँ र चितवनमा पर्ने यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालुहरु आउने गरेका भन्दै अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्दत गर्ने बरालले बताउनुभयो । “धार्मिक क्षेत्रमा प्लाष्टिक नलैजाउँ, प्लाष्टिकजन्य फोहोर रोकौँ भन्ने हाम्रो अभियान हो” कार्यकारी निर्देशक बरालले भन्नुभयो, “तीर्थस्थलहरुको पनि तीर्थस्थल देवघाटधामलाई स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो ।” संसारभर विकराल बन्दै गएको प्लाष्टिकजन्य फोहोरलाई निरुत्सान गर्नका लागि समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको बरालको भनाइ छ ।
“हामीले विशेष गरी साउनको सोमबारका दिन नदीको प्रवेशद्वारमा बसेर कपडाको झोला दिएर प्लाष्टिकका झोलाहरु लिने गरेका छौँ, यसले प्लाष्टिकका झोला नियन्त्रणमा केही सहयोग पुग्छ” उहाँले भन्नुभयो, “प्लाष्टिकको झोला स्थानीयले भन्दा पनि बाहिरबाट आउने तीर्थयात्रीले ल्याउने गरेकाले सबैमा सचेतना फैलाउन सकेमात्रै नियन्त्रण हुन्छ ।” प्लाष्टिकजन्य फोहोर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उहाँले जनचेतना फैलाएर घरबाटै प्लाष्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीनवटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले समेत बजेट विनियोजन गरेको बरालको भनाइ छ ।
“कालीगण्डकी, त्रिशूली र नारायणी नदी प्रदूषणमुक्त होस्, देवघाटमा निर्धक्कसँग स्नान गर्न सकियोस् भन्ने हाम्रो चाहना हो” उहाँले भन्नुभयो, “मानव सभ्यता विकास नदी किनारबाट भएकाले नदीको संरक्षण गर्नु र प्रदूषण रहित बग्न दिनु हामी सबैको दायित्व हो ।” अहिलेबाट नदीलाई स्वच्छ राख्दै भविष्यका पुस्ताका लागि समेत नदी संरक्षण गरिदिनुपर्ने उहाँले बताउनुभयो । समितिले दिएको तीर्थयात्रीलाई दिएको कपडाको झोला नदीमा पूजा गरेर फर्किँदा फिर्ता गर्नुपर्ने र ती झोला अन्य तीर्थालुहरुलाई समेत प्रयोग गर्न दिइने उहाँले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले नदीसँगै हामी अभियान वैशाखबाट सुरु गरिएको भए पनि अहिले साउनको सोमबार विशेष प्राथमिकतासाथ सञ्चालन गरिएको बताउनुभयो । सहमति संस्थासँग सहकार्य गरी थप झोला छपाउने काम भइरहेको भइरहेको पौडेलको भनाइ छ । “घरबाटै प्लाष्टिकको झोला लिएर देवघाट नजाने वातावरण बनाउन सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक छ” उहाँले भन्नुभयो, “नदी हाम्रो सभ्यता हो, त्यसमाथि देवघाटधाम सम्पूर्ण हिन्दूहरुको आस्थाको केन्द्र पनि हो ।”
देवताहरु समेत स्नान गर्न आउने देवघाटधामलाई पवित्र राख्नका लागि सम्पूर्ण भक्तजनहरु सचेत हुनुपर्ने उहाँले बताउनुभयो । देवघाटमा प्लाष्टिकमात्रै नभई कुनै पनि प्रकारको प्रदूषण नगर्न सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ । देवघाटलाई प्लाष्टिकमुक्त बनाउनका लागि विभिन्न ठाउँमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको पौडेलले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्