चितवन । चितवनको भरतपुर–१० मा रहेको मिलेनियम मोडल कलेज तथा इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत गरिएको छ ।
कलेजले आइतबार भरतपुरमा नयाँ विद्यार्थीका लागि उत्सव तथा स्वागत कार्यक्रम गरी विद्यार्थीहरुलाई भव्यरुपमा स्वागत गरेको हो । उक्त कार्यक्रममा नेपाल आइडल सिजन ६ की उत्कृष्ट पाँचभित्र पर्न सफल प्रतियोगी अतिथि कलाकार दर्शना गान्धारी र शब्द ब्याण्डको विशेष प्रस्तुती रहेको थियो । गान्धारी चितवनकै चेली तथा लामो समयदेखि कलेजसँग जोडिँदै आएकी कलाकार हुन् ।
कार्यक्रमको भिडिओका लागि यहाँ क्लिक गर्नुहोस्
विद्यार्थीहरुको स्वागतमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् कलेज सञ्चालक समितिका अध्यक्ष रवीन सापकोटाले विद्यार्थीहरुलाई अनुशासित भएर अध्ययन गर्न आग्रह गर्नुभयो । कक्षा ११ बाटनै उच्च शिक्षाको ढोका खुल्ला हुने भन्दै सापकोटाले विद्यार्थीहरुको मेहनतमा शिक्षकहरुले साथ रहन प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलेजका प्रिन्सिपल ईश्वरराज पण्डितले विद्यार्थीहरुलाई कलेजको संक्षिप्त जानकारी गराउनुभएको थियो । मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्कायमा कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्दै कक्षा ११ मा नयाँ आएका विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न पण्डितले आग्रह गर्नुभयो ।

कलेजका शैक्षिक संयोजक प्रकाश सुवेदीले नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभिन्न सीपमा आधारित जीवनोपयोगी सीप, क्षमता अभिवृद्धिसँगै भविष्यमा सफल उदाहरणीय व्यक्ति बन्नका लागि अवलम्बन गर्नुपुर्ने विषयको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । कक्षा ११ मा भर्ना भाएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिनुभयो ।

शब्द ब्याण्डले नयाँ विद्यार्थीहरुको उत्सवलाई अझै रमाइलो बनाउन विभिन्न नयाँ तथा पुराना गीतहरुबाट मनोरञ्जन दिएको थियो । कार्यक्रममा कलेजको कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुले समेत एकल र सामूहिक रुपमा आफ्नो प्रस्तुती राखेका थिए । स्वागत कार्यक्रममा अवसरमा विद्यार्थीहरुले नाचगान गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कलेजको कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले खादा एवम् अबिरद्वारा स्वागत गर्नुभएको थियो । कक्षा १२ का छात्र सृजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको अतिथिमा कलेजका सञ्चालक सदस्य एवम् इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका पूर्वप्राचार्य प्रेमहरि सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष डा शेषकान्त अधिकारीलगायतको उपस्थिति थियो ।
कक्षा १२ का विद्यार्थी कृतिका काफ्ले र विशाल दरैले उद्घोषण गर्नुभएको कार्यक्रममा बसन्ती घलेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरु जस्मिन पौडेल र चन्दन गुप्ताले धन्यवाद ज्ञापन गर्नुभयो ।










प्रतिकृया दिनुहोस्