काठमाण्डौँ । देशभित्र विश्वविद्यालय, कलेज र शैक्षिक पूर्वाधारको विकास भइरहे पनि नेपाली विद्यार्थीको विदेशप्रतिको आकर्षण घट्न सकेको छैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्र एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम १३ अर्ब ३५ करोडले बढी हो। शिक्षा क्षेत्रसँगै पर्यटन र सेवा क्षेत्रमा पनि विदेशी खर्चको प्रवृत्ति तीव्र रूपमा बढिरहेको देखिन्छ।
नेपालको भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो खर्च १ खर्ब ८९ अर्ब ४३ करोड थियो।
सेवा क्षेत्रको आयतर्फ भने चिन्ताजनक अवस्था देखिएको छ। चालु वर्षमा ९० अर्ब ९४ करोड रुपैयाँ घाटा देखिएको छ । जुन अघिल्लो वर्षको ५५ अर्ब ८६ करोड रुपैयाँ घाटाको तुलनामा उल्लेखनीय वृद्धि हो।
भ्रमण आयत भने ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। तर सेवा क्षेत्रमा देशले गुमाएको रकम र पाएको आम्दानीबीचको अन्तर दिनानुदिन बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
विश्लेषकहरूका अनुसार, देशभित्रै गुणस्तरीय शिक्षा, स्वास्थ्य र सेवा प्रणालीको विकास नगरेसम्म विदेशी निर्भरता घटाउने चुनौती जटिल नै रहनेछ





प्रतिकृया दिनुहोस्