चितवन । नारायणी नदी सफाइ अभियान २०८२ अन्तर्गत एक सय २५ झोला फोहोर संकलन गरिएको छ ।
अवेक नेपालको आयोजनामा शनिबार बिहान आयोजना गरिएको नारायणी नदी सरसफाइ अभियानका क्रममा प्लास्टिक, पूजा सामग्रीसहित एक सय २५ झोला फोहोर संकलन गरिएको कार्यक्रम संयोजक सुजल ऐरले जानकारी दिनुभयो । उहाँकाअनुसार नदी किनारमा प्लास्टिकजन्य फोहोर धेरै भेटिएको थियो । त्यसैगरी, नदीमा स्नान गर्न आउने भक्तजनले छोडेका लुगा र ऋषि पञ्चमी पूजा गर्दा छोडिएको सामग्री संकलन गरिएको ऐरको भनाइ छ ।
संकलन गरिएका सबै फोहोर भरतपुर महानगरपालिकाले उठाएर लगेको उहाँले बताउनुभयो । भरतपुर–१२ को ग्रीनल्याण्ड पब्लिक स्कुलको सहकार्यमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भरतपुर महानगर प्रहरीसहितको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमनले नदीलाई स्वच्छरुपमा बग्न दिनुपर्ने बताउनुभयो । मानव सभ्यताको विकास नदी किनारबाटै भएको भन्दै उहाँले नदी स्वच्छ राख्दा पर्यावरणसमेत स्वच्छ र सफा हुने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य एवम् प्याब्सन सदस्य ईन्दिरा कार्की, अतिथिहरुमा सर्प उद्धारकर्ता यमलाल भण्डारी, वे ग्रुपको अध्यक्षसहितका सदस्यहरु, सामाजिक अभियान्ता सीता ज्ञवालीसहित एक सय ५० भन्दा बढी स्वयंसेवकहरुको सहभागिता रहेको अवेक नेपालका संस्थापक सञ्जन चौधरीले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्