आनन्द पोखरेल
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘नमूना सदरमुकाम’ को भौतिक संरचना निर्माण गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लगाएर काम गरिएको छ । जिल्लामा रहने सङ्घीय सरकार र प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय एकै ठाउँमा हुने नमूना सदरमुकामको संरचना निर्माण गर्न दुई वटा ठेक्का लगाइएको हो । हाल यहाँ जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालयसहित अधिकांश सरकारी कार्यालयहरु भाडाको घरमा सञ्चालित छन् ।
नमूना सदरमुकाममा संरचना निर्माणका लागि दुईवटा ठेक्का लगाएर काम भइरहेको छ । संरचना निर्माणका लागि विसं २०८१ असार २१ मा सम्झौता भई पहिलो ठेक्का काम सुरु भएको छ भने अर्को ठेक्का विसं २०८२ वैशाख २२ मा सम्झौता भई काम भइरहेको छ । कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम शिलान्यास भएको ६ वर्षपछि निर्माणको काम सुरु भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले पहिलो ठेक्काअनुसार तीन वटा भवन निर्माण हुने जानकारी दिनुभयो । एउटा भवनमा जिल्ला प्रशासन कार्यालय तथा बाँकी दुईवटा भवनमा सङ्घ अन्तर्गतका एकीकृत सरकारी भवन रहने कटुवालले बताउनुभयो । “तीन वटै भवन निर्माणका लागि करिब रु २७ करोडमा सम्झौता भएको छ” उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय ७५० वर्ग मिटर क्षेत्रफल तथा बाँकी दुवै एकीकृत सरकारी कार्यालय रहने भवन ८०० वर्ग मिटर क्षेत्रफलका हुनेछन् ।”
रौतहटको चौधरी कन्सट्रक्सन प्रालिसँग आगामी २० पुस, २०८३ सम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको कटुवालको भनाइ छ । तीन वटै प्रशासनिक भवनहरु तीन तले अग्लो हुने उहाँले बताउनुभयो । पहिलो ठेक्का अनुसारको भौतिक प्रगति करिब १२ प्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी नमूना सदरमुकामको गुरुयोजना अनुसार संरचना निर्माण गर्नेगरी समानान्तर–बुद्ध–हिमाली जेभीले ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ । निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट सहित) रु तीन अर्ब ५० करोडमा ठेक्का सकारेको हो । सम्झौताअनुसार कम्पनीले २२ कात्तिक, २०८४ मा निर्माण सम्पन्न सरकारलाई संरचना हस्तान्तरण गर्नुपर्नेछ ।
सूचना अधिकारी कटुवालकाअनुसार दोस्रो सम्झौताअनुसार जिल्ला अदालत, सरकारी वकीलको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, दुई वटा एकीकृत भवन, सशस्त्र प्रहरी बलको कार्यालय तथा चार वटा कर्मचारी अवास निर्माण हुनेछन् । “जसमध्ये तीन वटा आवास जिल्ला सरकारी वकीलका लागि र एउटा प्रमुख जिल्ला अधिकारीका लागि आवास हुनेछ” उहाँले भन्नुभयो, “योसँगै दोस्रो सम्झौताअनुसार नै पाँच सय जना क्षमताको सभागृह, आन्तरिक सडक निर्माण, बिजुली, खानेपानीको संचना पनि निर्माण हुनेछ ।” त्यस्तै ल्याण्ड स्केपिङ (भवनको आँगन, सवारीसाधन पार्किङ, प्रतिक्षा कक्ष), नमूना सदरमुकामभित्र परेको खोलाको बाँध निर्माण, नमूना सदरमुकामको पूरै क्षेत्रफलमा पर्खाल, नाली तथा आकर्षक गेट निर्माण हुने गरी दोस्रो ठेक्का सम्झौता भएर काम अगाडि बढेको उहाँले बताउनुभयो ।
करिब एक सय ८४ बिघा क्षेत्रफलमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नमूना सदरमुकाम निर्माणको काम अगाडि बढेको हो । दोस्रो ठेक्काअनुसार पहिलो चरणमा भवन निर्माणको काम तीव्र भएको उल्लेख गर्दै कटुवालले भवन निर्माण सकिएपछि अन्य कामहरु निर्माण हुने जानकारी दिनुभयो । हालसम्म दोस्रो ठेक्काको भौतिक प्रगति करिब सात प्रतिशत पुगेको उहाँको भनाइ छ ।
नवलपुरको नमूना सदरमुकामको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले विसं २०७६ वैशाखमा गर्नुभएको थियो । ६ वर्ष अगाडि शिलान्यास गरिए पनि जग्गा प्राप्ती, रुख कटानको अनुमति तथा आर्थिक स्रोत सुनिश्चित नहुँदा सदरमुकाम निर्माणको काम अगाडि बढ्न सकेको थिएन । नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल रङ्गशाला, १५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् ।
प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको सबै काम निर्माण सम्पन्न गर्नका लागि करिब रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लागत अनुमान गरिएको छ । नमूना सदरमुकामको एक सय ८४ बिघा क्षेत्रफलमध्ये करिब ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुने गरी गुरुयोजना तयार भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को प्रतिवेदनअनुसार पूर्वाधार निर्माण नहुने भू–भाग कङ्क्रिटविहीन राखिनेछ ।
आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्लाको प्रतिनिधित्व गर्ने गरी ११ खण्डमा एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गर्नेगरी गुरुयोजना बनेको छ ।





प्रतिकृया दिनुहोस्