नवलपुर । लायन्स क्लब अफ गैँडाकोट कालिगण्डकीले शारीरिक अपाङ्गता भएकी बालिकालाई ह्विलचियर प्रदान गरेको छ ।
क्लबका सदस्य लोचन सापकोटाको जन्मदिनको अवसर पारी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ की १२ वर्षीया साया श्रेष्ठलाई ह्विलचियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष शिवप्रसाद भुसालले सदस्यको जन्मदिनमा सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले उत्सवहरुमा होटलमा गएर खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक सेवाका काम गर्दै आएको बताउनुभयो ।
आफूभन्दा नसक्नेलाई सहयोग गर्ने क्लबको योजनाअनुसार सहयोगको काम गर्दै आएको भुसालको भनाइ छ । आफूहरुले हरेक वर्ष अनाथ तथा वृद्धाश्रममा गएर खाना खुवाउने, वृक्षरोपण गर्ने, विद्यालयमा आवश्यकताअनुसार शैक्षिक सामग्री वितरण गर्ने काम गर्दै आएको भुसालले बताउनुभयो । आगामी दिनमा सामाजिक कामलाई थप प्रभावकारी ढङ्गबाट अगाडि बढाइने उहाँको भनाइ छ ।





प्रतिकृया दिनुहोस्