नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक महिनाको अवधिमा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ । साउन २० देखि हालसम्म जिल्लामा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जापनीज इन्सेफलाइटिस जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला तथा हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापनीज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । “सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ” उहाँले भन्नुभयो, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”
जापनीज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका भन्दै तिवारीले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको जानकारी दिनुभयो । “सङ्क्रमित दुवै बिरामीको काठमाडौँमा उपचार भइरहेको छ” उहाँले भन्नुभयो, “ जापनीज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिलाई सिधै मष्तिष्कमा असर गर्ने भएकाले उनीहरुको अवस्था गम्भीर बन्न थाल्छ ।” सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक एक जना रहेका उहाँले बताउनुभयो ।
“जापनीज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ” उहाँले भन्नुभयो, “जापनीज इन्सेफलाइटिसबाट मृत्यु भएकाको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरुको अवस्था सामान्य छ ।” सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उहाँले जानकारी दिनुभयो ।
तिवारीकाअनुसार जापनीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको तिवारीको भनाइ छ ।
जापनीज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने उहाँले बताउनुभयो । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । जिल्लामा जापनीज इन्सेफलाइटिसबाट एक महिनामा तीन जनाको मृत्यु भएपछि कार्यालयबाट समुदायमा सचेतना फैलाउने काम भएको उहाँको भनाइ छ ।
टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी एमव् नागरिक समाजको माध्यमबाट जापनीज इन्सेफलाइटिस रोग र यसबाट जोगिने उपायको बारेमा सचेता फैलाइएको तिवारीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुँगुर–बङ्गुर खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्ने उहाँको भनाइ छ । गत आर्थिक वर्ष २०८१÷८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएको थिए भने अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्