काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रस्थित खानीखोला गाउँपालिकामा पहिलोपटक हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार गरिएको छ। शनिबार बिहान १० बजेदेखि सुत्केरी व्यथाले गम्भीर अवस्थामा पुगेकी १९ वर्षीया आयुष्मा भ्लोनलाई आइतबार हेलि एम्बुलेन्समार्फत काठमाडौं पुर्याइएको हो।
तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिए पनि आयुष्माको प्रसूति अवस्था बिग्रँदै गएको थियो। उच्च रक्तचाप, लामो व्यथा, र गर्भ शिशुमा समस्या देखिएपछि औषधिले पनि सुधार नआएपछि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने अवस्था आयो। चौकीकी अनमी रन्जु कोइरालाका अनुसार भदौ २१ गते बिहान भर्ना गरिएकी बिरामीलाई तत्काल अस्पताल पुर्याउनुपर्ने देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
डाँडापारि क्षेत्रको कच्ची सडक सञ्जाल वर्षातका कारण पूर्णरूपमा अवरुद्ध भएकोले सवारी साधन चल्न नसक्दा हेलि एम्बुलेन्स नै एकमात्र विकल्प बनेको थियो। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले हेलिकप्टरबाट उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पुर्याइएको जानकारी दिए। हाल आमा र नवजात शिशु दुवैको आईसियुमा उपचार भइरहेको छ।
खानीखोला गाउँपालिका गत भाद्र १२ गतेदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश भएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धारका लागि कार्यविधि–२०७७ अनुसार कार्यक्रम सञ्चालन गरिरहेको छ। २०७७ बाट सुरु भएको यो कार्यक्रममा खानीखोला यसअघि समावेश नभएको भए पनि हाल पहिलोपटक उद्धार भएको हो।
यसअघि काभ्रेपलाञ्चोककै महाभारत गाउँपालिकामा भने १६ जना गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ। खानीखोलाको यो पहिलो उद्धारले दुर्गम क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षामा सरकारी कार्यक्रमको प्रभावकारिता देखाएको छ ।





प्रतिकृया दिनुहोस्