चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू सञ्चालन गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ।
मन्त्रालयले आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिई ती सामाजिक सञ्जालहरूको पहुँच निषेध गरिसकिएको जानकारी गराएको छ । उक्त विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सूचीकरण नभएका सामाजिक सञ्जालहरूमा पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत तथा जोखिमयुक्त भीपीएनको प्रयोग नगर्नु/नगराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले २२ भदौसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) तथा ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेको जानकारी दिनुभएको छ। त्यसैगरी ट्वीटर (एक्स) तथा वीच्याटले सूचीकरणका लागि आवश्यक विवरण माग गरिसकेको र सो विवरण मन्त्रालयबाट उपलब्ध गराइसकिएको जानकारी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
ठाकुरले सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका सन्दर्भमा कानुनी प्रक्रिया अनुरूप कार्य अघि बढाइरहेको स्पष्ट पार्दै नागरिकको डिजिटल सुरक्षालाई ध्यानमा राखी जिम्मेवार प्रयोगको आग्रह गर्नुभएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ती





प्रतिकृया दिनुहोस्