आन्दोलनका क्रममा खुटमा गोली लागेर घाइते भई अस्पतालमा उपचाररत सर्विन थिङ (दायाँ) र आरुष गुरुङ (बायाँ) । तस्बिरः लोक सूचना
चितवन । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै सडकमा उत्रिएका जेन–जीको आन्दोलनमा चितवनमा गोली चलेको छ । सोमबार दिउँसो प्रहरीले चलाएको गोलीबाट तीन जना जेन–जी पुस्ता घाइते भएका छन् ।
तर, प्रहरीले गोली चलाएको घटना चितवनमा लुकाइएको छ । सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ती जारी गर्दा विज्ञप्तीमा गोली चलाइएको घटना समावेश गरिएको छैन । विज्ञप्तीमा दुई राउन्ड हवाई फायर र ३२ सेलमात्रै अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।
यता भरतपुर महानगरपालिका अगाडि प्रहरीले जेन–जीलाई ताकेर प्रहार गरेको गोली लागेर दुई जना पुरुष तथा एक जना महिला प्रदर्शनकारी घाइते भएका छन् । गोली लागेर घाइते भएका तीन जनाकै चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल –सिएमसी)मा उपचार भइरहेको छ ।
अस्पतालका सूचना अधिकारी पारस अधिकारीकाअनुसार आन्दोलनका घाइतेमध्ये दुई जना पुरुषको आईसीयुमा राखेर उपचार भइरहेको छ भने एक जना महिलाको पोस्टअप वार्डमा उपचार भइरहेको छ । उनीहरुको खुट्टामा तीनै जनाको सोमबार सल्यक्रिया गरिएको अधिकारीले जानकारी दिनुभयो । अस्पताल स्रोतका अनुसार तीनै जना घाइतेलाई गोली लागेको हाे ।
गोली लागेर घाइते हुनेमा नवलपुरको गैँडाकोटको झराही खोला बस्दै आएका १७ वर्षीय सर्विन थिङ, भरतपुरको रमाइलो चोक बस्दै आएका २२ वर्षीय आरुष गुरुङ, भरतपुरकी छाया गुरुङ रहेका छन् । अस्पतालका सूचना अधिकारी पारस अधिकारीकाअनुसार सोमबार आन्दोलनमा घाइते भएका १६ जनाको अस्पतालमा उपचार गरिएको छ । जसमध्ये १२ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने चार जना अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार गोली नचलाएको दाबी गर्नुभयो । ‘हामीले हवाई फायर गरेको भनेर विज्ञप्ती जारी गरेका छौँ, घाइतेहरुलाई गोली हानिएको होइन’ उहाँले भन्नुभयो, ‘हवाई फायर गर्दा त्यसको ‘स्पिलिन्टर’ लागेर घाइते भएका हुन् ।’
सोमबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा आठ जना प्रदर्शनकारी र सात जना सुरक्षकर्मी घाइते भएका अर्यालले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्