काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेन-जी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उहाँले बताउनुभयो ।
भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ ‘भारतीयहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन्’
सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गर्नुभएकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय साथीहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन् ।’
न्यूज १८ अनलाइनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उहाँले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताउनुभएको छ ।
विद्यार्थी जीवन सम्झँदै उहाँले थप्नुभयो, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झिन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो । भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिनुभएको थियो ।
उहाँले न्यूज १८ सँगको एक प्रश्नमा आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताउनुभयो । आफूले सर्वोच्च अदालतमा काम गर्ने बेलामा पनि सामूहिक रुपमा काम गरेको उहाँले स्मरण गर्नुभयो ।





प्रतिकृया दिनुहोस्