नवलपुर । नवलपुरमा मङ्गलबार साँझदेखि जारी कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकार भविश्वर पाण्डेले आज बिहान सूचना जारी गर्दै जिल्लामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।
जारी सूचनामा भनिएको छ, “नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका विभिन्न क्षेत्रमा यस अघि जारी भएको कर्फ्यु आदेश मिति २०८२/०५/२७ गते बिहान ७ बजेदेखि हटाइएको छ । तर स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका विभिन्न स्थानमा हुलदङ्गा वा अशान्ति हुनसक्ने सम्भावना रहेकाले निषेधाज्ञा जारी गरेको बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षा कायम राख्दै जनजीवन सहज बनाउन आज बिहान ७ बजेदेखि नै अर्को आदेश नभएसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उहाँले बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गर्ने जो सुकै व्यक्तिलाई प्रचलिन कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।





प्रतिकृया दिनुहोस्