काठमाडौँ । तीन दिनको अवधिमा देशभरबाट २६८ नाल हतियार बरामद भएको छ । जेनजीको आह्वानमा सोमबार र मंगलबारको प्रदर्शनपछि तीन दिनको अवधिमा २६८ नाल हतियार बरामद भएको हो ।
प्रदर्शनपछि मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको थियो । सुरक्षा निकायका तीनवटै निकाय; नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शुक्रबारसम्म सो परिमाणमा हतियार बरामद गरेको हो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको हतियार पनि खोसेका थिए । ती हतियार फिर्ता गर्न नेपाली सेनाले आह्वान पनि गरेको छ । फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
त्यस्तै देशका विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिइ पुनः कारागार चलान गरिरहेको छ । फरार कैदी र थुनुवाहरूलाई पनि कारागारमा फर्कन आग्रह गरेको छ ।
सुरक्षा निकायले विभिन्न व्यापारिक भवनहरु तोडफोडपश्चात त्यहाँबाट लुटिएका सामानहरू पनि फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेको तस्बिर र भिडिओ भए उपलब्ध गराउन आग्रह गरिसकेको छ । त्यसरी तस्बिर र भिडिओ पठाउनेको परिचय गोप्य राखिने पनि प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्