काठमाडौं । आश्विन सङ्क्रान्तिको अवसरमा आज देशभरिका कालीगढ, कारीगर र मजदुरहरूले विश्वकर्मा पूजा र वास्तु दिवस भव्यतापूर्वक मनाउँदै छन्। यस अवसरमा विभिन्न कल-कारखाना र कार्यशालाहरूमा विश्वकर्मा भगवान्को पूजा आराधना गरिँदै छ ।
परम्परा अनुसार, बालुवा वा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरिन्छ। पूजा पश्चात, यी मूर्तिहरू बागमती नदीको सुन्दरीजल मुहान वा अन्य पवित्र स्थलमा लगी विसर्जन गरिन्छ। आज पूजा गरिएका मूर्तिहरू बिहीबारदेखि नदीमा लगी विसर्जन गरिने छन्।
यस दिन काममा प्रयोग हुने विभिन्न औजार र यन्त्रहरूको पनि पूजा गरिन्छ। यसो गर्दा ती औजारहरू लामो समयसम्म टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वास गरिन्छ। अहिले इञ्जिन जडान भएका यन्त्र र सवारीसाधनहरूमा समेत यस्तो पूजा गर्ने चलन बढेको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालको भनाइमा, द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूबाट जोगाउन विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘द्वारका’ नगर निर्माण गरेका थिए। त्यही समयदेखि विश्वकर्मालाई सर्वश्रेष्ठ वास्तुविद् को रूपमा मानिएको र उनको पूजा गर्ने परम्परा सुरु भएको बताउँछन्।
वास्तुशास्त्री शिव पोखरेलको मतमा, विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिन्छ र ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको प्रसिद्ध ग्रन्थ उनको रचना हो भन्ने विश्वास गरिन्छ।
यसै परम्परालाई सम्झन र सम्मान गर्ने उद्देश्यले नेपालका कारीगरहरूले विश्वकर्मा पूजा मनाउँदै आएका छन्। उनीहरूको विश्वास छ कि यसले उनीहरूमा विश्वकर्माको गुणहरू आरोपण गर्छ।
पछिल्लो समयमा नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्ये एक स्थापत्यवेदमा वास्तुशास्त्रको विस्तृत विवरण छ। यसैको आधारमा सहर तथा आवास निर्माण गर्नेहरूको सङ्ख्या बढ्दो छ, जसले गर्दा वास्तु विद्याको महत्त्व पनि बढेको छ। यसै कारण वास्तुविद्हरूले पनि आजको दिनलाई वास्तु दिवसको रूपमा मनाउने गरेका छन्।





प्रतिकृया दिनुहोस्