नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालीहरुको महान् चाड दसैँको अवसरमा शुभकामना आदादप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले दसैँको शुभकामना व्यक्त गर्दै सबैलाई सत्मार्गमा लाग्न आग्रह गर्नुभयो । सत्यको सधैँ जित हुने भएकाले सत्यबाट टाढा भाग्न नहुने उहाँको भनाइ थियो । शिक्षकहरुको पढाउने काम भएकाले आफूहरु पनि अध्ययनशील हुन उहाँले सबै शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
विद्यार्थीलाई बुझाउन सक्ने क्षमता नै शिक्षकहरु सफल हुनुको प्रतीक भएको प्राचार्य भण्डारीले बताउनुभयो । दसैँ सत्यको विजय, सदाचारको प्रतीक र आत्मीयताको पर्वका रुपमा मनाउने गरिएको भन्दै प्राचार्य भण्डारीले यस पर्वले हामी सबैलाई नयाँ उत्साह उमङ्ग र सहकार्यको भावना प्रदान गरोस् भन्ने शुभेच्छा राख्नुभयो । यस शुभ पर्वले हामी सबैलाई सत्य, सदाचार, धैर्य र आत्मीयताको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा नव नियुक्त भएका शिक्षक तथा कर्मचारीलाई नियुक्ति पत्र वितरण गरिएको थियो । त्यस्तै कलेजको बिबिएका विभागीय उपप्रमुख आकाश घिमिरेलाई बिदाइ गरिएको थियो । घिमिरे विद्यावारिधि अध्ययनका लागि अष्ट्रेलिया जान लाग्नुभएकाले कलेजले बिदाइ गरेको कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलले बताउनुभयो ।
कलेजका बिई कार्यक्रम संयोजक इन्जिनियर भीम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन विभागका प्रमुख हरि थपलियो, बिबिए प्रमुख डा धर्मराज उप्रेती, बिसिए प्रमुख सुशान्त तिवारी, बिएचएम प्रमुख केश्मा पौडेल, अणनाथ भण्डारी, नवराज गौतम, लक्ष्मी बराल, कृष्मा पौडेल, सुशान्त तिवारी, तिलक मल्ललगायतले दसैँको शुभकामना दिनुभएको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहप्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्