नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ ।
योजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटर बाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उहाँको भनाइ छ । दाउन्ने खण्डमा पनि धूलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उहाँले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताउनुभयो ।
“दाउन्ने खण्डलाई पनि सहज बनाउने गरी काम तीव्ररुपमा अगाडि बढेको छ” उहाँले भन्नुभयो, “यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग बिस्तारको अन्य काममा जुट्नेछौँ ।” यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ । एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उहाँको भनाइ छ ।
सडक बिस्तारको ठेक्का पाएका चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यस्थापक इन्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताउनुभयो । “विगतको तुलनामा सडक एकदमै सहज बनेको छ, हामी सार्वजनिक बसमा साढे दुईघण्टामा बुटबलबाट नारायणघाट पुग्न सक्छौँ” उहाँले भन्नुभयो, “थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न गर्ने तयारीसाथ हामी फिल्डमा खटिएका छौँ ।” अहिले तिहारको बेला काम केही ढिला गतिमा बढेको भए पनि छटपछि भने सडकको बिस्तारको काममा तीव्रता आउने उहाँले बताउनुभयो ।
गैँडाकोट, देवचुली, चोरमारा, दाउन्ने लगायतका ठाउँमा अहिले काम भइरहेको उहाँको भनाइ छ । गैँडाकोट क्षेत्रमा सडकको दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र भइसकेको ठाउँमा भने सडकको बीचको डिभाइडर बनाउनेकाम भइरहेको जानकारी दिनुभयो । “केही ठाउँमा पुलको रेलिङ बनाउने काम अगाडि बढेको छ, केही ठाउँमा सडकको फिनिसिङ तथा सर्भिस लेन बनाउने कामसमेत सुरु भइसकेको छ” उहाँले भन्नुभयो, “दाउन्नेको पहाडमा भने सडकलाई सहज बनाउन ढलानको काम तथा धूलो हटाउने काम र सडकको किनारमा पर्खाल लगाउने काम भइरहेको छ ।”
अघिल्लो वर्ष यो समयमा यस सडक पार गर्न सात घण्टासम्म लाग्ने गरेको भन्दै चालकहरु अहिले भने यातायात धेरै सहज भएको बताउनुहुन्छ । नारायणघाट बुटवल सडकमा गाडि चलाउँदै आउनुभएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन सकिएको उहाँले बताउनुभयो । “पोहोर परार यो सडक पार गर्न सात घण्टा भन्दा बढी समय लाग्थ्यो, एकतर्फी यात्रा गर्दा गाडी सर्भिसिङ गर्नुपर्ने अवस्थामा पुग्थ्यो” उहाँले भन्नुभयो, “अहिले तयो समस्या हटेको छ, बाटो सहज हुँदा गाडीको मर्मत खर्चमा समेत कमी आएको छ ।”
एसियाली हाइवेको मापदण्डमा बिस्तार भइरहेको यस सडक बिस्तार पश्चात नारायणघाटबाट बुटवलको ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने बताइएको छ । चार लेनमा बिस्तार भइरहेको सडकको बजेट रु १७ अर्ब मध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी)ले १ दशमलव ५ प्रतिशत व्याजमा ऋणसहयोग उपलब्ध गराएको छ । विसं २०७९ साउनमा निर्माण सक्नेगरी विसं २०७५ माघबाट सडक बिस्तारको काम सुरु भएकोमा चौथोपटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।





प्रतिकृया दिनुहोस्