नवलपुर । नवलपुरको भित्री सडकखण्डमा सवारीसाधनको दुर्घटना बढी भएपछि ट्राफिक प्रहरीले चालक सचेतना कार्यक्रम सुरु गरेको छ । तिहारको समयमा जिल्लाको भित्री सडकखण्डमा बढी दुर्घटना भएको हुनेको दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद प्रसाद जोशीले शहरी क्षेत्रको भित्री सडकमा अटो रिक्साको दुर्घटना बढ्दो क्रममा रहेकाले दुर्घटना जोखिम न्यूनीकरणका लागि चालकसँग सचेतना कार्यक्रम गरिएको बताउनुभयो । उहाँले अटो रिक्साका चालकलाई रोकेर तीव्र गतिमा सवारीसाधन नचलाउन, सवारीसाधन चलाउँदा मादक पदार्थ सेवन (मापसे) नगर्न, ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको बताउनुभयो । चालकले सजगता अनाउँदै अनुशासित भएर सवारीसाधन चलाउँदा आधाभन्दा बढी दुर्घटना न्यूनीकरण हुने भएकाले चालकलाई सचेत गराइएको जोशीले बताउनुभयो ।
क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गर्न चालकहरुलाई सचेत पारिएको जोशीको भनाइ छ । पछिल्लो आठ दिनको अवधिमा जिल्लामा भएका २६ वटा दुर्घटनामा परी चार जनाको मृत्यु तथा ४८ जना घाइते भएका थिए । अधिकांश भित्री सडकमा भएको दुर्घटनामा मोटरसाइकल, स्कुटर, अटो रिक्सा, यात्रुबसलगायत ४० वटा सवारीसाधन संलग्न थिए ।





प्रतिकृया दिनुहोस्