नवलपुर । नवलपुरको गैँडाकोटमा भोलि शुक्रबारदेखि नगरस्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट नगर खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल (ज्याबलिङ थ्रो), सटफुट एवम् मार्सल आर्टतर्फ तेक्वान्दो र कराते लगायतका खेल हुने जनाइएको छ । करिब एक हजार दुई सय विद्यार्थीहरुले सहभागी जनाउने प्रतियोगितामा तीन सय भन्दा बढी मेडलको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्वितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले १५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो ।
त्यस्तै, मार्चपासमा प्रथम हुने समूहले सात हजार, द्वितीय हुने समूहले पाँच हजार, तृतीय हुने समूहले तीन हजार तथा सान्त्वनाले एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कार सहित ट्रफी पाउने कार्कीको भनाइ छ । राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको लागि गैँडाकोट नगरपालिकाबाट ६ लाख रुपैयाँ उपलब्ध हुनेछ भने गैँडाकोट वडा नम्बर १५ बाट तीन लाख ५० हजार, वडा नम्बर १६ बाट दुई लाख, वडा नम्बर १७ बाट एक लाख तथा सुन्दरी सामुदायिक वनबाट ६० हजार रुपैयाँ नगद सहयोग प्राप्त हुने लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कँडेलले बताउनुभयो ।
प्रतियोगिताको लागि अहिलेसम्म करिब १५ लाख १० हजार रुपैयाँ प्राप्त भएको र थप रकम अझै सहयोग हुन सक्ने कँडेलको भनाइ छ । खेलाडीहरुको स्वस्थ्यको सुरक्षाका लागि प्रत्येक खेलमा विद्यालय नर्स तथा एम्बुलेन्स रहने भन्दै कँडेलले प्रत्येक खेलाडीको एक लाख रुपैयाँ बराबरको बिमा समेत गरिएको जानकारी दिनुभयो । चार दिनसम्म हुने प्रतियोगिता गैँडाकोट–१५ स्थित लक्ष्मी माध्यामिक विद्यालयको खेल मैदानमा हुनेछ ।
प्रतियोगिता हुने स्थानमा मैदान सम्याउने र आवश्यक पूर्वाधार निर्माणको तयारी अन्तिम चरणमा पुगेको गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष कार्कीले बताउनुभयो । विगतमा नगरस्तरीय प्रतियोगितामा पहिलो हुने विद्यालय जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने व्यवस्था रहेकोमा गत वर्षदेखि पालिकाबाट सहभागी हुने व्यवस्था रहेको कार्कीको भनाइ छ । नगरमा भएको प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडी छनौट गरेर जिल्लाको प्रतिस्पर्धामा पठाउने गरी खेलाडी छनौट गरिने उहाँको भनाइ छ ।
गैँडाकोटको नगरस्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडी जिल्ला स्तरीय, प्रदेशस्तरीय एवम् राष्ट्रिय खेल खेल्न सफल भएको कार्कीको भनाइ छ । लगातार तीन वर्षसम्म पहिलो हुने विद्यालयले रनिङशिल्ड कब्जा गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । गत वर्षको जिल्ला स्तरीय रनिङ शील्ड प्रतियोगितामा गैँडाकोट नगरपालिकाले द्वितीय स्थान हासिल गरेको थियो ।





प्रतिकृया दिनुहोस्