चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सुरु गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा अस्पतालले साढे १ महिनादेखि सुरु रोबोटिक सर्जरी प्रविधिबाट हालसम्म १४ वटा शल्यक्रिया गरिएको जानकारी दिएको छ । रोबोटिक तथा युरोसर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआई सर्जनहरु डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्र नेतृत्वमा सर्जरी सेवा सुरु गरिएको सिएमसीले जनाएको छ ।
रोबोटिक तथा युरोसर्जन डा. गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दूरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । ‘रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो,’ उनले भने, ‘रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिन्छ ।’
परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा. गुरुङको भनाइ छ । यो सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उनले यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सूक्ष्म शल्यक्रिया गर्न सक्ने बताए । यसले गर्दा शल्यक्रिया क्रममा शरीरको अन्य भागमा कम क्षति पुग्ने र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुने डा. गुरुङको भनाइ छ ।
अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा. गुरुङको भनाइ छ । रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उनले यही कारणले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताए । अन्य तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुन्छन् । ‘रोबोटिक शल्यक्रियामा एकदमै अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण गतिविधि एकदम छरितो हुन्छन्,’ उनले भने, ‘त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा पनि धेरै फाइदा हुन्छ ।’
रोबोटिक सर्जरी प्रविधिमा चिकित्सकले प्रत्यक्ष रुपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हात माध्यमबाट गरिने अपरेसन सिएमसीका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए । यो सर्जरीमा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइँ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने देवकोटाको दाबी छ ।
सर्जरीको प्रकृतिअनुसार ५० हजारदेखि २ लाखसम्म गर्न सकिने उनले बताए । यसरी शल्यक्रिया गर्दा सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, कम रक्तश्राव, कम पीडा र छिटो निको हुने, संक्रमणको सम्भावना न्यून र दीर्घकालीन सफलता मुख्य विशेषता रहेको उनको भनाइ छ ।
सिएमसीमा ल्याइएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणालीको हो । ३२ करोड रुपैयाँ लागतमा यो प्रविधि भित्र्याइएको जानकारी दिँदै देवकोटाले भने, ‘यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेशन’ पास गरेको छ, जसले यसको उच्चसुरक्षा मापदण्ड पुष्टि गर्दछ ।’
सेवा सुरु अवसरमा शनिबार रोबोटिक सर्जरी कन्फ्रेन्ससमेत गरिँदैछ । कन्फ्रेन्समा भारतबाट वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रियंका भात्रा, डा वीरेन्द्र भगतलगायत नेपालबाट समेत गरी २ सयजना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागी हुनेछन् । जसमा नेपालका जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन तथा रेजिडेन्टहरु र नर्सहरु सहभागी हुनेछन् । कन्फ्रेन्समै ‘लाइभ रोबोटिक सर्जरी’ तयारी हुँदैछ ।





प्रतिकृया दिनुहोस्