नवलपुर । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा माछाका भुरा छोडेको छ । विश्व मत्स्य दिवसको अवसर पारेर कार्यालयले राहु, नैनी र कमन प्रजातिका १६ हजार माछाका भुरा शनिश्चरे तालमा छोडेको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा छोडिएको जानकारी दिनुभयो । प्राकृतिक हिसाबले स्थानीय प्रजातिका माछाका भुरा यहाँको वातावरणमा बढ्न र हुर्कन मद्दत पुग्ने भएकाले राहु, नैनी र कमन प्रजातिका माछाका भुरा छोडिएको कुमालको भनाइ छ । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पर्यटनसँगै संरक्षणलाई जोड दिने आफूहरुको प्रयास रहेको डा कुमालको भनाइ छ ।
मत्स्य विकास केन्द्र भण्डारा चितवनमा हुर्काइएको माछाका भुरा ल्याएर प्राकृतिक तालमा छोडिएको उहाँको भनाइ छ । विगतका वर्षहरुमा नारायणी नदीमा माछाका भुरा छोड्ने गरिएको भए पनि यसपटक तालमा छोड्नुको मुख्य उद्देश्य भनेको संरक्षण र पर्यटनलाई जोड्नु नै भएको उहाँले बताउनुभयो । “संरक्षणसँगै पर्यटकीय गतिविधलाई अगाडि बढाउँदा दिगो हुन्छ” उहाँले भन्नुभयो, “यो ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले हामीले संरक्षणमा समेत जोड दिएका हौँ ।”
माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले तालमा माछाका भुरा छोड्दा माछाको सङ्ख्या वृद्धि गर्न तथा पर्यावरण संरक्षणमा सहयोग पुग्ने बताइएको छ । नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको बताइएको छ । त्यसैले नेपाल माछामा आत्म निर्भर हुन सकेको छैन ।
माछा उत्पादक किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् । नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताउनुभयो । सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिँदै आएको भए पनि पर्याप्त नभएको किसानको भनाइ छ । नवलपुरमा वार्षिक कति माछा आवश्यक पर्छ र कति उत्पादन तथा खपत भइरहेको छ भन्ने एकिन तथ्याङ्क भने छैन ।





प्रतिकृया दिनुहोस्