नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चौँथो संस्करणको गैँडाकोट महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ नवलपुर, गैँडाकोटले आयोजना गर्न लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक जिल्ला उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवका संयोजक छविलाल कँडेलले कार्यक्रमबारे जानकारी दिँदै महोत्सवमा करिब २५० स्टल रहने भन्दै २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको बताए । महोत्सव अवलोकन गर्नका लागि नवलपुर, चितवन, तनहुँसहित विभिन्न स्थानबाट दुई लाखभन्दा बढी दर्शकहरुको सहभागिता रहने कँडेलको भनाइ छ ।
महोत्सवको व्यवसायिक स्टलमा देशभरका उद्योगी–व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहने जनाइएको छ । महोत्सवलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार मुख्य क्षेत्रमा विभाजन गरिएको छ । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषिजडिबुटी, हस्तकला, तयारी पोशाकदेखि दैनिक उपभोग्य सामानसम्मका विविध स्टलहरू महोत्सवमा रहने कँडेलले बताए ।
महोत्सव अवधिभर सञ्चालन हुने सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकार, फेशन शो, विद्यालय र विभिन्न सांस्कृतिक समूहका प्रस्तुति रहने उनको भनाइ छ । बाल उद्यान क्षेत्रमा मनोरञ्जनात्मक खेल सामग्री, जलपरी तथा माछाका एक्वेरियम जडान गरिने जनाइएको छ । महोत्सवको सुरक्षा र व्यवस्थापनलाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी क्यामेराबाट निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापन रहने कँडेलको भनाइ छ ।
पत्रकार सम्मेलनमा जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष दीपक सापकोटाले महोत्सवले स्थानीय उत्पादन र पर्यटन क्षेत्रलाई थप उजागर गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको बताए । महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सापकोटाले भने, ‘स्थानीय उद्यमी, किसान र उत्पादकका लागि यो उत्कृष्ट बजार प्लेटफर्म हो । महोत्सवमार्फत बजार विस्तार, नयाँ साझेदारी र प्रविधिको आदान–प्रदान हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनेछ । महोत्सव आर्थिक, सामाजिक र सांस्कृतिक सबलीकरणको महत्वपूर्ण अवसर पनि हो ।’
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गैँडाकोटलाई द्रुत गतिमा अघि बढिरहेको उद्यमशीलताको केन्द्रका रूपमा वर्णन व्याख्या गरे । ‘गैँडाकोट उद्योग, व्यापार र पर्यटनको प्राकृतिक केन्द्रका रूपमा अगाडि बढिरहेको छ’ उनले भने, ‘यस्ता महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर उद्यमशीलतामा नयाँ ऊर्जा थप्छ ।’ महोत्सवले गण्डकी प्रदेशको मात्र नभई देशकै आर्थिक तथा व्यापारिक गतिविधि गतिशील बनाउन मद्दत गर्ने भट्टचनले बताए ।





प्रतिकृया दिनुहोस्