चितवन । विश्व एड्स दिवसको अवसरमा आइतबार नेशनल ओपन कलेजमा आयोजित स्वास्थ्य जागरूकता कार्यक्रममा अवेक नेपालले सक्रिय सहभागिता जनाउँदै एचआईभी एड्स सम्बन्धी सही जानकारी, सुरक्षित व्यवहार र सामाजिक दृष्टिकोणबारे युवाहरूलाई अभिमुखीकरण गरेको छ।
कार्यक्रममा एचआईभी संक्रमण कसरी सर्छ, कसरी सर्दैन, यसबाट बच्न अपनाउनुपर्ने सावधानी, सुरक्षित यौन व्यवहार, नियमित परीक्षणको आवश्यकता तथा संक्रमित व्यक्तिप्रति अपनाउनुपर्ने मानवीय व्यवहारका विषयमा विस्तृत जानकारी दिइएको थियो। युवाहरूबीच अझै पनि व्याप्त मिथक, डर र गलत धारणाले स्वास्थ्य चेतनामा अवरोध सिर्जना गरिरहेको अवस्थामा यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने अवेक नेपालले जनाएको छ।
कार्यक्रमको उद्देश्य युवाहरूलाई खुलेर प्रश्न सोध्न, सही कुरा बुझ्न र व्यवहार परिवर्तनतर्फ अग्रसर गराउनु रहेको अवेक नेपालका सहसंस्थापक सुजल ऐरले बताउनुभयो । उहाँले युवाहरू नै समाज परिवर्तनका प्रमुख संवाहक भएको उल्लेख गर्दै भन्नुभयो,
“जागरूकता फैलियो भने मात्र सुरक्षा बढ्छ, सुरक्षा बढ्यो भने मात्र भविष्य सुरक्षित बन्छ। त्यसैले हामी समुदाय, विद्यालय र क्याम्पससम्म तथ्यमा आधारित स्वास्थ्य सन्देश पुर्याउने लक्ष्यका साथ निरन्तर सक्रिय छौँ।”
अवेक नेपालले आगामी दिनमा देशव्यापी रूपमा सचेतनामूलक कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ। संस्थाले विशेष गरी ग्रामीण क्षेत्र, जोखिम समूह र युवा केन्द्रित संस्थाहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताइएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता सचेतनामूलक अभियानले मात्र एचआईभी/एड्स नियन्त्रणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। विश्व एड्स दिवसको अवसरमा आयोजित यस कार्यक्रमले युवाहरूलाई तथ्यमा आधारित सोच, सुरक्षित व्यवहार र सकारात्मक दृष्टिकोणतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्