चितवन । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी हनुभएको छ । बिहीबार काठमाडौँमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।
ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको निर्वाचनमा दुई हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएको थियो । मतदान सकिएको करिब चार घण्टामा नजिता सार्वजनिक भएको हो । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीमा गत मंसिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मंसिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए । अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए । एमाले ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमा खसआर्य समुदायका पुरुषको वर्चस्व देखिएको छ । जम्बो पदाधिकारी टीम निर्वाचित हुँदा महिला र दलित समेत १/१ जनामात्रै परेका छन् ।
पदाधिकारीमा एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । जसका कारण पार्टीको निर्णायक भूमिकामा रहने पदाधिकारीमा महिला र दलितको प्रतिनिधित्व न्यूनमात्रै भएको छ भने मुस्लिम र थारु समुदाय छुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली तेश्रो कार्यकालका लागि निर्वाचित हुँदा पाँच उपाध्यक्ष चयन भए । तर महिला अँटाएनन्। संविधान र कानुनले राज्यका हरेक निकायमा सबै जातजाति र समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।
१९ पदाधिकारीमध्ये १८ जना पुरुष अर्थात् ९४.७४ प्रतिशत छन् भने सचिवमा महिला पद्माकुमारी अर्याल एक जनामात्रै निर्वाचित भएकी छिन् । मधेसी समुदायका रघुवीर महासेठ उपमहासचिव निर्वाचित भएका छन् । सचिवमै दलित समुदायका छविलाल विश्वकर्मा दोहोरिएका छन् ।





प्रतिकृया दिनुहोस्