चितवन । चितवनको भरतपुरस्थित ईडेन गार्डेन इङ्ग्लिश सेकेण्डरी स्कूलले व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित “पहिलो फुड फेस्टिवल–२०८२” आयोजना गरेको छ । “लर्निङ बाइ डुइङ” शिक्षण दर्शनलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई पुस्तकबाहिरको वास्तविक जीवनसँग जोड्ने लक्ष्यका साथ विद्यालयले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
“फ्लेभर अफ लर्निङ” शीर्षकमा आयोजित फुड फेस्टिवलमा कक्षा ३ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूले आफ्नै पहलमा भान्सा तथा भोजनालय सञ्चालन गरेका थिए । उनीहरूले आवश्यक सामग्री खरिद, सम्भावित ग्राहकको अनुमान, लागत गणना, बजेट व्यवस्थापन र नाफा आर्जनसम्मको सम्पूर्ण प्रक्रिया स्वयं अनुभव गरेका सुवेदीको भनाइ छ ।

विद्यार्थीहरुले आयोजना गरेको फुड फेस्टिवलका कारण विद्यालयको खेलमैदान एकदिनका लागि रंगीन बजारमा रूपान्तरण भएको थियो । समोसा, पराठा, मःमः, पकौडा, चिप्स, सेलरोटी लगायतका परिकारको सुगन्धसँगै विद्यालय परिसर नै कक्षाको शिक्षण सिकाइ अनुभूति दिलाउने स्थल बनेको कार्यक्रममा उपस्थित अभिभावकहरूले बताए । विद्यार्थीहरूले खाना मात्र पकाएनन्, वास्तविक अर्थमा सानो व्यवसाय पनि निर्माण गरेका उनीहरुको भनाइ छ ।

फेस्टिवलका प्रमुख उद्देश्यहरूमा “लर्निङ बाइ डुइङ” शिक्षण पद्धतिको अभ्यास, वित्तीय साक्षरताको विकास, बिक्री–विपणन तथा सञ्चारजस्ता सीपको अभिवृद्धि र परम्परागत नेपाली परिकारको प्रवर्द्धन समावेश गरिएको सुवेदीले बताउनुभयो । शिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले समूहमा कार्यविभाजन गर्दै सामाजिक अनुकूलता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका उहाँको भनाइ छ ।

कार्यक्रम अवलोकन गर्न पुगेका अभिभावक तथा संरक्षकहरूले आफ्ना बालबालिकाको बिक्रीकला, ग्राहक सेवा र आत्मविश्वासपूर्ण प्रस्तुति प्रत्यक्ष देख्न पाएको प्रतिक्रिया दिएका छन् । यसले नयाँ पुस्तामा नेपाली परिकारप्रतिको आकर्षण र सांस्कृतिक गौरव निरन्तर रहने विश्वाससमेत दिलाएको छ ।

कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरू आफैंले फेस्टिवल क्षेत्र सफा गरी कक्षा पुनः व्यवस्थित गरेका थिए । फोहोरलाई जैविक र पुनः प्रयोगयोग्य रूपमा छुट्याई व्यवस्थापन गरिएको थियो भने सबै परिकार अनुमानित मात्रामा तयार भएकाले खाद्य अपव्यय नभएको विद्यालयले जनाएको छ ।
विद्यालयका शैक्षिक संयोजक सुवेदीका अनुसार यो फुड फेस्टिवलले विद्यार्थीलाई परीक्षामुखी शिक्षणभन्दा बाहिर ल्याई जीवनोपयोगी सीप सिकाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ। “यस कार्यक्रमले समुदायलाई स्वाद मात्र होइन, भोलिका उद्यमीहरूलाई ऊर्जा र आत्मविश्वास दिएको छ,” उहाँले भन्नुभयो ।
यस फेस्टिवलमार्फत ईडेन गार्डेन इङ्ग्लिश सेकेण्डरी स्कूलले परीक्षा केन्द्रित शिक्षण मात्र नभइ, जीवनमुखी र व्यवहारिक शिक्षामा जोड दिएको स्पष्ट देखिएको छ।





प्रतिकृया दिनुहोस्