चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा रहेको भाले घडियाल गोही । तस्बिर : लोक सूचना अनलाइन
नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ वटा भाले घडियाल गोही गणना गरिएको छ । अति सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ वटा घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापा मगरकाअनुसार दुवै नदीमा जम्मा तीन सय ६६ वटा घडियाल गोही फेला परेका छन् । “अनुगमनका क्रममा हामीले राप्ती नदीमा दुई सय ३१ वटा तथा नारायणी नदीमा एक सय ३५ वटा घडियाल गोही फेला पारेका छौँ” थापा मगरले भन्नुभयो, “गत वर्ष दुवै नदीमा गरी जम्मा तीन सय ५२ वटा मात्रै घडियाल गोही देखा परेका थिए ।” थापा मगरकाअनुसार यस वर्षको गणनामा राप्ती नदीमा दुई सय ६ तथा नारायणी नदीमा एक सय ४६ वटा घडियाल फेला परेको छ ।
गत वर्षको भन्दा यस वर्ष नारायणी नदीमा घडियाको सङ्ख्यामा कमी आएको भन्दै उहाँले राप्ती नदीमा भने घडियालको सङ्ख्या बढेको जानकारी दिनुभयो । “हामीले गरेको संरक्षणको पहल र समुदायमा बढेको संरक्षण चेतनाका कारण घडियाल गोहीको सङ्ख्या बढेको हुनसक्छ” उहाँले भन्नुभयो, “निकुञ्जले बर्सेनि घडियाल प्रजनन केन्द्रमा हुर्काएको गोहीका बच्चाहरुलाई नारायणी नदी र राप्ती नदीमा छोड्ने गर्दा पनि नदीमा गोहीको सङ्ख्या बढ्दै गएको छ ।” सन् १९७८ देखि निकुञ्जको मुख्यालय कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरी अति सङ्कटापन्न अवस्थामा रहेको घडियालको संरक्षणको काम भइरहेको थापा मगरले जानकारी दिनुभयो ।
नारायणी तथा राप्ती नदी किनारबाट गोहीका अण्डाहरु सङ्कलन गरी प्रजनन केन्द्रमा मेसिनबाट बच्चा कोरलेर हरेक वर्ष प्राकृतिक वासस्थानमा छोड्ने गरिएको उहाँको भनाइ छ । आगामी दिनमा पनि घडियाल गोहीको दीगो संरक्षण, नियमित अनुगमन तथा नदी प्रणालीको संरक्षणका लागि सरोकारवाला निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै घडियालको सङ्ख्या वृद्धिमा भूमिका खेल्ने थापा मगरले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले यस वर्ष मङ्सिर २१ देखि मङ्सिर २९ गतेसम्म गरेको घडियाल गोहीको नियमित अनुगमन कार्यबाट प्राप्त भएको नजिता शुक्रबार सार्वजनिक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गणना गरिनुको मुख्य उद्देश्य नदी प्रणालीमा घडियाल गोही तथा यसको बासस्थानको वर्तमान अवस्थाको अद्यावधिक जानकारी संकलन गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताउनुभयो । अनुगमनका क्रममा राप्ती र नारायणी नदीका विभिन्न खण्डहरूमा प्रत्यक्ष अवलोकनको आधारमा घडियाल गोहीको गणना गरिएको पन्तको भनाइ छ । घडियाल गोहीको गणनाका क्रममा नारायणी नदीमा एउट डल्फिन (साँस) समेत देखा परेको पन्तले जानकारी दिनुभयो ।
प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार घडियाल गणनाका क्रममा नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीको गोलाघाट क्षेत्रमा एउटा डल्फिन फेला परेको हो । नारायणी नदीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानिएको पन्तले बताउनुभयो । यस अघिका वर्षहरुमा पनि नारायणी नदीको यस क्षेत्र र नवलपुरको बगुबन, अमलटारी क्षेत्रमा पटक–पटक डल्फिन देखिँदै आएको थियो ।





प्रतिकृया दिनुहोस्