चितवन । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय कार्यसमितिको चितवनमा हुने राष्ट्रिय पार्सद सभाको तयारी पूरा भएको छ । छोंज धींले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको छ ।
पुस २६ र २७ गते भरतपुर–२ स्थित तीन खोले गुम्बामा हुने राष्ट्रिय पार्सद सभामा देशका विभिन्न ३२ जिल्लाबाट प्रतिनिधि एवम् पर्यवेक्षक गरी एक सय ५० जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा भेला संयोजक एवम् नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिका अध्यक्ष पवन गुरुङले सभामा ताप्लेजुङदेखि रोल्पासम्मका विद्यार्थीहरुको सहभागिता रहने बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिने तथा घोषणापत्र जारी गर्ने तयारी रहेको गुरुङले बताए ।
पुस २६ गते उद्घाटन भएको राष्ट्रिय पार्सद सभामा २७ गते नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका पूर्व अध्यक्ष दिल गुरुङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका संस्थापक अध्यक्ष एवम् खेमा लिपि अभियान्ता भीम गुरुङ र नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको शैक्षिक विभाग प्रमुख बुधराम गुरुङले प्रशिक्षण दिने बताइएको छ । उनीहरुले समसामयिक राजनीतिक परिस्थिति, जेनजी विद्रोह र संगनिक विधि र पद्धति, तमू जातिको भषा, धर्म, संस्कार र संस्कृति एवम् सूचना प्रविधि र संस्कृति प्रवद्र्धन तथा संगठानात्मक विकासमा यसको प्रयोगबारे प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रशिक्षणपछिको बन्द सत्रमा नियमित कार्य अगाडि बढाइने उल्लेख गर्दै केन्द्रीय अध्यक्ष गुरुङले जिल्ला, प्रदेश तथा विभागीय प्रमुखबाट रिपोर्टिङ हुने बताए । बन्दसत्रमा सांगठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल र पारित गर्दै विभिन्न महत्वपूर्ण विषयमा निर्णय गरी सभा सम्पन्न हुने गुरुङले बताए ।





प्रतिकृया दिनुहोस्