चितवन । आगामी माघ २ र ३ गते चितवनको भरतपुर–१ स्थित देवघाटधाममा ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । देशका सात प्रदेश तथा ४६ जिल्लामा शाखा विस्तार भएको परिषद्को महाविधेशनमा देशभरबाट करिब पाँच सय प्रतिनिधि सहभागी हुने बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा परिषद्का महासचिव आचार्य केशव गौतमले कार्यक्रमको प्रमुख उद्देश्यको रुपमा पञ्चाङ्ग प्रकाशनमा भएको मतान्तरणलाई समाधान गर्ने सम्बन्धी छलफल, ज्योतिष, धार्मिक तथा पारम्परिक गतिविधिका बारेमा शस्त्रीय चिन्तन गर्ने सामुहिक थलो विकास गर्ने, ज्योतिष, धार्मिक, सांस्कृतिक तथा पारम्परिक गतिविधिलाई पुस्ता हस्तान्तरण गर्ने गरेको बताए । महाधिवेशनका क्रममा उपप्राध्यापक डा नारायण प्रसाद निरौलाले ‘सौर्य र केतकी पञ्चाङ्गको विमर्श’, प्राध्यापक कपिल अज्ञातले ‘कुण्डलिनी विज्ञानअनुसार सञ्चम भाव विद्या र विदेश भाव’ तथा सहप्राध्यापक दिनानाथ पण्डितले ‘धर्म र ज्योतिषसँगको अन्योन्याश्रित सम्बन्ध’बारे कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । माघ २ गते उद्घाटन भएको महाधिवेशनले ३ गते नयाँ नेतृत्व छनौट गर्दै समापन गर्ने बताइएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले गर्ने ज्योतिष परिषद् नेपालका तदर्थ समिति संयोजक मेघराज आचार्यले जानकारी दिए । उनले सबैले धार्मिक अनुशासन पालना गर्नुपर्ने भन्दै संस्कृति, परम्परा र रीतिरिवाजलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।





प्रतिकृया दिनुहोस्