नवलपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा निर्वाचन प्रहरीको आवेदन माग गरिएकोभन्दा थोरै परेको छ । थोरै आवेदन परेपछि आवेदन दिने समय दुई दिन थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले माघ १ गतेसम्म परेको आवेदन मागभन्दा थोरै भएकाले म्याद थप गरिएको जानकारी दिनुभयो । स्थानीय सुरक्षा समितिको निर्णयबाट निर्वाचन प्रहरीका लागि माघ ३ गतेसम्म आवेदन दिन पाउने गरी म्याद थपिएको खड्काले बताउनुभयो । “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रही बल, नेपाल) कार्यविधि–२०८२ बमोजिम जिल्लाका लागि आवश्यक निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको थियो” उहाँले भन्नुभयो, “जिल्लालाई आवश्यक पर्ने निर्वाचन प्रहरी सङ्ख्याको तुलनामा आवेदन कम परेको हुँदा गृह मन्त्रालयको निर्देशनअनुसार दरखास्त दिने अवधि दुई दिन थपिएको छ ।”
जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी एक हजार ७२२ जनाको माग गरिएकोमा माघ १ गतेसम्म एक हजार ६१० जनाको मात्रै दरखास्त परेको खड्काले बताउनुभयो । “हामीले सशस्त्र प्रहरीतर्फ १९९ जना तथा नेपाल प्रहरीतर्फ एक हजार ५४३ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरेका थियौँ” उहाँले भन्नुभयो, “माघ १ गतेसम्म सशस्त्रतर्फ १४५ जना र नेपाल प्रहरीतर्फ एक हजार ४६५ जनाको मात्रै दरखास्त परेको छ ।” निर्वाचन प्रहरीमा युवाहरुको आकर्षण भइरहेको भए पनि कतिपय ठाउँमा सूचना नपुगेका कारण पनि निर्धारित समयमा आवश्यकताअनुसार दरखास्त नआएको हुनसक्ने उहाँले बताउनुभयो ।
थप गरिएको समयमा जिल्लाको आवश्यकताअनुसार निर्वाचन प्रहरीको दरखास्त पर्ने विश्वास गरिएको उहाँले बताउनुभयो । “कतिपयलाई निर्वाचन प्रहरीकाे आवेदन खुलेकोबारे जानकारी नै छैन, हामीले व्यापक प्रचारप्रसार गरी निर्वाचन प्रहरीको माग गरिएकोबारे जानकारी गराउँछौँ” उहाँले भन्नुभयो, “शनिबार पनि दरखास्त दिन सकिन्छ, योग्यता पुगेका जिल्लावासीहरु आफ्नो कागजातसहित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ ।”
निर्वाचन प्रहरीको दरखास्त फारम भर्नका लागि नेपाली नागरिकता प्रमाण पत्रको सक्कल तथा नक्कल, शैक्षिक योग्यताको प्रमाणपत्र, अवकाश प्राप्त (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, वनरक्षक) पूर्व म्यादी प्रहरी, विदेशी मित्र राष्ट्रको सुरक्षा सम्बन्धी काम गरेको भए सोको प्रमाण पत्र एवम् हालसालै खिचेको चारप्रति पासपोर्ट साइजको फोटो सहित सम्पर्क गर्न उहाँले अग्रह गर्नुभयो । नवलपुरमा जिल्ला प्रहरी कार्यालय कावासोती र सशस्त्र प्रहरी बल, ३१ नम्बर गुल्म भेडाबारीबाट दरखास्त दिन सकिने उहाँले बताउनुभयो । निर्वाचन प्रहरीमा आवेदन दिएका व्यक्तिले माघ ५ गते कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्दै प्रहरी उपरीक्षक खड्काले बाँकी कार्यतालिका केन्द्रको सूचनाको आधारमा हुने बताउनुभयो ।





प्रतिकृया दिनुहोस्