चितवन । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यावसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उहांँले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा बृद्धि गर्नुपर्ने बताउनुभयो । ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ’, उहांँले भन्नुभयो, ‘जसले कृषकलाई व्यावसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मद्दत गर्छ ।’
कृषकले निर्वाहमुखी भन्दा पनि व्यावसायिक उत्पादन गर्न कृषि प्रविधिको भरपुर प्रयोग गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । कृषिमा युवाहरुलाई आकर्षण गर्न, आयात कम गर्न, बिचौलियालाई निरुत्साही गरी वास्तविक किसानलाई अनुदान जस्ता कार्यक्रमलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उहांँको भनाइ छ । ‘उत्पादन अनुसारको अनुदान र व्याज अनुदानलाई प्राथमिकतामा राखेर काम भइरहेको छ’, उहांँले भन्नुभयो, ‘अलग्गै कार्यविधि बनाएर युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन हामी सचेत छौं ।’
उहांँले समयमै रासायनिक मल प्राप्त गर्न, प्रांगारिक मल कारखाना सञ्चालन गर्न प्रदेश सरकार लागिरहेको बताउनुभयो । सो क्रममा स्टल प्रर्दशकले मन्त्री पौडेल समक्ष सरकारका नीति, भन्सार तथा करका समस्याका विषयमा जानकारी गराएका थिए ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । आइतबारसम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहेका छन् । प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा भएको एक्स्पो यही माघ ४ गतेसम्म चल्नेछ । एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।





प्रतिकृया दिनुहोस्