नवलपुर । पोखराबाट सुरु भएको सर्वोदय शान्ति पदयात्रा नवलपुरको गैँडाकोट आइपुगेको छ । पुस २३ गते पोखराबाट सुरु भएर भारतको छत्तिसगढ (दुर्ग)सम्म पुग्ने शान्ति पदयात्राको टोली शनिबार गैँडाकोट आइपुगेको हो ।
मानव मिलन संस्थाका संस्थापक ‘नेपाल केसरी राष्ट्रसन्त’ डा मणिभद्र मुनिजी महाराजको नेतृत्वमा आएको टोलीलाई गैँडाकोटमा स्वागत सत्कार गरिएको छ । मानव मिलन संस्था नवलपुरले गैँडाकोटमा दीक्षा समारोहको आयोजना गरी शान्ति पदयात्राको टोलीबाट दीक्षा दिवसको अवसरमा दीक्षा जयन्ती समारोह गरेको हो । कार्यक्रममा ‘नेपाल केसरी राष्ट्रसन्त’ डा मणिभद्र मुनिजी महाराजले मानवले आफ्नो दृष्टि सकारात्मक राख्नुपर्नेमा जोड दिनुभयो ।
संसारिक सुविधालाई त्याग गरी आध्यात्मिक जीवनमा लाग्नुपर्ने भन्दै मुनिजीले मृत्युलाई महोत्सवमा परिणत गर्न सक्नु नै जीवनको सार भएको बताउनुभयो । साधना र आध्यात्मको सम्मान गर्नुपर्नेमा जोड दिँदै मुनिजीले पछिल्लो समय नेपालमा विधर्मीहरुको प्रभाव बढ्दै गएको बताउनुभयो । हत्या, हिंसा गर्न नहुने भन्दै उनले धार्मिक अनुष्ठानहरुलाई नियमसङ्गत गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाल संस्कारक पुनीत मुनिजी महाराजले पछिल्लो समय मानवले मानवता देखाउन छोडेका बताउनुभयो । मानव भएर जन्मिएपछि एकदिन मर्नुपर्ने भन्दै उनले मानवको सेवामा सधैँ समर्पित हुनुपर्नेमा जोड दिनुभयो । हामी साँच्चिकै मानव हुँदै कल्याणकारी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा गैँडाकोट–१ का वडाध्यक्ष सुरेन्द्र रेग्मीले समृद्ध समाज निर्माणमा एकजुट हुँदै मानव सेवामा लाग्नुपर्ने बताउनुभयो । पोखराबाट निस्किएको शान्ति पदयात्रा बुटवल हुँदै सुनौली नाका भएर दुर्गसम्म पुग्ने बताइएको छ । शान्ति पदयात्राको टोलीमा जैन धर्मका मुनिहरुसँगै अन्य अनुयायीहरुको समेत सहभागिता रहेको छ ।





प्रतिकृया दिनुहोस्