चितवन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा शान्तीपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । चितवनमा मङ्गलबार बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन दर्ता सुरु गरिएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा साँझ ६ बजेसम्म जम्मा ६५ जनाको उम्मेदवारी दर्ता भएको छ । चितवन क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित जम्मा १९ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत अमृत विश्वकर्माले जानकरी दिनुभयो । उहाँकाअनुसार क्षेत्र नम्बर १ मा चार जना स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावादोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा कृष्णराज पन्तले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकाल रास्वपाबाट यसअघि प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने लामा यस अघिको बागमती प्रदेशको मन्त्री परिषद्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जम्मा २३ जनाको उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । सहायक निर्वाचन अधिकृत देवी भण्डारीकाअनुसार यहाँ यहाँ ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । चितवन क्षेत्र नम्बर २ देशकै राजनीतिक इपिसेन्टरको रुपमा चर्चा गरिएको छ ।
क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उम्मेदवारी रहेको छ । उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् ।
लामिछाने सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सामा रहेका कारण चितवन आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो । यससँगै चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ काँग्रेसकी खरेल, एमालेका घिमिरे र नेकपाका गुरुङ प्रतिनिधि सभा सदस्यका लागि नयाँ अनुहार हुन् ।
त्यसैगरी, चितवन क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत सुरतप्रसाद तिमल्सेनाका अनुसार यहाँ नेपाली काँग्रेसबाट पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट महानगर कमिटी अध्यक्ष शंकर थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट भरतपुर महनगरकी निवर्तमान मेयर रेनु दाहाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान सांसद सोबिता गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिंगी रहेका जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।
चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता जानकारी दिए । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका कार्कीको भनाइ छ । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।
क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेका कार्कीले जानकारी दिए । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।





प्रतिकृया दिनुहोस्