नवलपुर । नवलपुरको गैँडाकोटमा गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु भएको छ । गैँडाकोट–५ स्थित जानकरी ग्यालरीमा सुरु भएको प्रदेशस्तरीय प्रदर्शनी माघ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान एवम् गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा गण्डकीका ११ जिल्लाबाट एक सय आठ जना कलाकारका एक सय ३२ वटा सिर्जनाहरु समावेश गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी विभागीय प्रमुख एवम् गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विभिन्न २४ जना कलाकारले फरक फरक दुई विधामा आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका जानकारी दिइन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानले आठ वटा फरक विधा पहिचान गरी हरेक कलाकारबाट एउटा विधामा एउटा कला आह्वान गरेको भन्दै दर्शनधारीले एउटा कलाकारले बढीमा फरक दुई विधामा सहभागी हुन पाउने गरी व्यवस्था गरिएअनुसार कलाकारले सिर्जना पठाएका जानकारी दिइन् । उनकाअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको तयारीस्वरुप प्रादेशिक ललितकला प्रदर्शनी गरिएको हो । ‘यसअघि हामीले सिधै केन्द्रमा कार्यक्रम गर्ने गरेका थियौँ’ उनले भनिन्, ‘हामीले स्थानीय स्तरबाट कला छनौट गरेर जानुपर्छ भनेर हामी प्रदेश प्रदेशमा कार्यक्रम गरी छनौट गरेर केन्द्रमा प्रदर्शनी तथा पुरस्कृत गर्दैछौँ ।’
कार्यक्रम उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमा समसामयिक चित्र बढी प्राप्त भएको जानकारी दिए । ‘कलाकारहरुलाई समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका सिर्जनाहरु तयार पारेर पठाउन भनिएको थियो’ उनले भने, ‘समसामयिकबाहेक अन्य विधामा थोरै कलाहरुमात्रै प्राप्त भए ।’ ललितकला भनेको चित्रमात्रै नभई मूर्त र अमूर्त संस्कृतिहरुको सङ्गम भएको हार्तम्छालीले बताए ।
स्थानीय ठाउँमा रहेका कला र संस्कृति ल्याउन नसिएको उनले बताए । ‘गण्डकी प्रदेश भनेको कला र संस्कृतिमा धनी ठाउँ हो, यहाँ धेरै कलाकृतिहरु छन्” उनले भने, “हामीले कलाकार भन्ने वित्तिकै चित्र बनाउनेमात्रै बुझ्छौँ । तर, विभिन्न चित्र बनाउने, मूर्ति बनाउने, काष्ठकलाको काम गर्ने सबै सर्जकहरुलाई समेटेर कला, संस्कृति संरक्षणमा योगदान पु¥याउनुपर्छ ।’ स्थानीय स्तरबाट यस्ता प्रदर्शनी गर्नुपर्नेमा केन्द्रबाट हस्तक्षेप गर्दै कार्यक्रम गर्नुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीय स्तरबाट कार्यक्रम गर्दै केन्द्रलाई समन्वय गरिदिन भन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरु सबै जातजातिको कला र संस्कृति खोज्दै जगेर्ना गर्न लागीपरेको बताए । उनले देशका सबै भूगोलमा पुगेर लोपोन्मुख कलाको खोजी गर्दै यसको संरक्षण प्रवद्र्धन गर्ने आफूहरुको मुख्य उद्देश्य भएको बताए । प्रदर्शनीमा राखिएकोमध्ये विभिन्न सिर्जनाहरुलाई फरक फरक विधामा पुरस्कृत गरिने भन्दै लामाले गण्डकी प्रदेशिक ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट हुने एक जनालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।
छनौटमा परेका प्रतिभालाई राष्ट्रिय कार्यक्रममा पुरस्कृत गरिने भन्दै उनले सात वटै प्रदेशमा प्रदर्शनी हुने र सबै प्रदेशको उत्कृष्ट सिर्जनालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । त्यस्तै, सात वटै प्रदेशमा आठ वटा विधामा एक एक जनालाई गरी ५६ जनालाई ३० हजार रुपैयाँका दरले प्रादेशिक विधागत ललितकला पुरस्कार, सात वटै प्रदेशमा एक एक जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ राशिको नवप्रतिभा प्रादेशिक पुरस्कार प्रदान गरिने उनको भनाइ छ । त्यस्तै ५० हजार रुपैयाँ राशिको नवप्रतिभा ललितकला उत्कृष्ट पुरस्कार एक जनालाई, ५० हजार रुपैयाँ राशिको प्रादेशिक ललितकला उत्कृष्ट पुरस्कार सात जनालाई, ६० हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला पुरस्कार आठ जनालाई प्रदान गरिने लामाले बताए ।
सबै प्रदेशबाट छनौटमा परेका कलाहरु काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने भन्दै लामाले राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार एक जनालाई एक लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए । नवलपुरबाट सुरु भएको प्रादेशिक प्रदर्शनी शुक्रबार लुम्बिनीको बुटवलमा हुने भन्दै लामाले अन्तिममा बागमती प्रदेशमा फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने बताए । देशका सात वटै प्रदेशबाट छनौटमा परेका कला तथा सिर्जनाहरुलाई आगामी वर्षको जेठ १५ गते काठमाडौँमा पुरस्कार प्रदान गरिने लामाको भनाइ छ ।
यही अवसरमा एक लाख ५० हजार रुपैयाँ राशिको अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान दुई जनालाई, ६० हजार रुपैयाँ राशिको ललितकला लेखन पुरस्कार एक जनालाई, ३० हजार रुपैयाँ राशिको ललितकला पत्रकारिता पुरस्कार दुई जनालाई तथा ५० हजार रुपैयाँ राशिका सहिद अनिल लामा स्मृति ललितकला पुरस्कार र सहिद बाबुराम लामा स्मृति पुरस्कार एक÷एक जनालाई प्रदान गरिने उनले बताए । त्यस अवसरमा ललितकला प्रवद्र्धन सम्मान र विभाग तथा समन्वय समितिमार्फत पनि सम्मान गरिने लामाको भनाइ छ ।
प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवम् विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्वलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको लामाले बताए । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले कला, भाषा, संस्कार र संस्कृति जगेर्ना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताए । प्रदर्शनीका संयोजक एवम् गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले कलाकार र सर्जकलाई हौसला बढाउन यस्ता अभियान महत्वपूर्ण हुने बताए ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारहरुको सहभागिता रहेको भन्दै उहाँले प्रदर्शनीमा राखिएका कलामध्ये त्यसले दिने सन्देश, त्यहाँ संयोजन गरिएका रङ्ग, भावको आधारमा छनौट गरी पुरस्कृत गरिने बताए । प्रदर्शनी उद्घाटन कार्यक्रमको अध्यक्षता गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तकवि गोविन्दराज विनोदीको अध्यक्षतामा भएको थियो ।





प्रतिकृया दिनुहोस्