चितवन । प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिको आफ्नो २२औँ स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यमा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको जिल्ला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नवीनबाबु मरहठ्ठाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य अजिता अधिकारीले प्रेस सेन्टरको श्रमजीवीहरुको संगठन बन्न सफल भएको बताउँदै सधैँ सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभयो । प्रेस सेन्टरले भ्रष्टाचार विरोधी अभियानलाई कलमको माध्यमबाट खबरदारी गर्दै जनपक्षीय पत्रकारिता मार्फत देशको समृद्धि र सामाजिक न्यायका लागि सधैँ अग्रस्थान रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले श्रमजीवी पत्रकारहरुको हकहित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २२ वर्षको लामो इतिहास, प्रेस सेन्टरको चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको बताउनुभयो । सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक, अधिकार र न्यायका लागि आफूहरु सधैँ अग्रस्थानमा लडिरहेको उहाँको भनाइ छ ।
“नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको छ” अध्यक्ष आचार्यले भन्नुभयो “अबको समयमा प्रेस सेन्टरमा आबद्ध पत्रकारहरुले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पु¥याउनुपर्ने आवश्यकता छ ।” जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवीनबाबु मरहठ्ठाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले सञ्चालन गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्