नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा जारी देवघाटधाममा शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा श्रद्धालुहरुको आकर्षण बढ्दै गएको छ । माघ १९ गते उद्घाटन भएर सुरु भएको महोत्सवमा कथा श्रवण तथा प्रसाद ग्रहणका लागि भक्तजनहरुको आकर्षण बढ्दै गएको जनाइएको छ ।
महोत्सवको आयोजक संस्था दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर)का पूर्वअध्यक्ष सन्तोषजनक भुसालले प्रवचन स्थल, हवनस्थल तथा मन्दिर परिसर आउने श्रद्धालुहरुको उपस्थिति राम्रो भएको बताए । देवघाट–५ स्थित टाउनचोकमा रहेको पुरानो मन्दिरको जीर्णोद्वार एवम् देवघाटधामको महत्व प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुने भुसालले जानकारी दिए । अहिले माघ महोत्सवका क्रममा मन्दिरमा ब्राह्मणहरुद्वारा दैनिक चण्डी पाठ पारायण, मन्दिरको अखण्ड अग्निको ज्वाला बेनी सङ्गममा ल्याएर हवनादी कार्य तथा चितवनतर्फ कथा प्रवचन भइरहेको भुसालको भनाइ छ ।
त्यस्तै हरेक दिन साँझमा नारायणी नदीमा गङ्गा आरती, दैनिक भजन कीर्तन सञ्चालन तथा प्रसाद वितरण भइरहेको भुसालले बताए । देवघाटधाममा रहेको ४० वर्ष पुरानो दुर्गा पाञ्चायन मन्दिरमा ४० वर्षदेखि नै अखण्ड धुनि जारी रहेको भुसालको भनाइ छ । माघ महिनामा गंगामा स्नान गरी जप, ध्यान तथा दान आदि कर्म गर्दा पूण्य प्राप्त भई परलोकमा वैकुण्ठधाम प्राप्त गर्ने विश्वाससहित हिन्दु धर्मावलम्बीहरु देवघाट आउने गरेका उनले बताए ।
महायज्ञका सङ्कल्पकर्ता शीतलकृष्णजी महाराजले विश्वविख्यात कथा वाचक देवी प्रतिभाजीबाट दैनिक कथा वाचन भइरहेको जानकारी दिए । ‘देवीजीबाट मंगलबारदेखि दैनिक दिउँसो कथा वाचन भइरहेको छ, उहाँले माघ २७ गतेसम्म कथा वाचन गर्नुहुनेछ’ उनले भने, ‘मैले पनि दैनिक रुपमा कथा वाचन गरिरहेको छु, योसँगै महायज्ञ अवधिभर प्रख्यात कथा वाचकहरुद्वारा कथा वाचन हुनेछ ।’ उनकाअनुसार माघ महोत्सव स्थलमा ईश्वरकृष्ण, बालकृष्ण, आशुतोष पौडेल, देवी पवित्रा, प्रशान्त कृष्ण परंकुश, ऋषिकेश पोखरेललगायतका प्रख्यात कथावाचकहरुले फरक फरक दिनमा कथा वाचन गर्नेछन् ।
सबै भक्तलाई देवघाट बोलाउने र मकर स्नान गराउने तथा देशको तीर्थलाई सबै सामु पु¥याउने इच्छाका कारण यस महायज्ञ सञ्चालन गरिएको उनले बताए । नेपालीहरु तीर्थयात्रा भनेर बाहिर अन्यत्र जाने गरेको उल्लेख गर्दै शीतलकृष्णजीले शास्त्रले आदिप्रयागको रुपमा वर्णन गरेको देवघाट आउन पाउनु हिन्दु धर्मावलम्बीहरुको सौभाग्य भएको बताए । शास्त्रमा माघ महिनामा कुनै न कुनै तीर्थ कुच्नै पर्ने तथा कुनै न कुनै गङ्गा–गण्डकीमा स्नान गर्नुपर्ने भनेर व्याख्या गरेको कारण पनि श्रद्धालुहरु अहिले देवघाट आउने क्रम बढेको उनको भनाइ छ ।
माघ महोत्सवमा आउने श्रद्धालुहरुले ४० वर्षदेखिको अखण्ड धुनीको भष्मलाई प्रसादको रुपमा वितरण गरिएको उनले बताए । ‘यस भष्म साथमा लिएर हिँड्दा कुनै पनि अप्रिय घटना हुन दिँदैन’ उनले भने, ‘हरेक व्यक्तिले साथमा भष्म लिएर जाँदा उहाँहरुको साइत पर्ने तथा काम बन्ने हुन्छ ।’ माघ १९ गते देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले माघ महोत्सवको उद्घाटन गरेका थिए ।





प्रतिकृया दिनुहोस्