चितवन । चितवनको भरतपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा माघ २५ देखि २९ गतेसम्म प्रदर्शनी सञ्चालन हुँदैछ ।
प्रदर्शनीको ९५ प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले बताउनुभयो । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको आकर्षणको रुपमा उन्नत जातको गाई प्रदर्शन गरिँदैछ । वक्तृत्वला, हाजिरीजवाफ प्रतियोगिता तथा दूध र दुग्धजन्य पदार्थहरुको प्रदर्शनी हुने अधिकारीले बताउनुभयो ।
पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने अधिकारीको भनाइ छ । यस प्रदर्शनीमा नेपाल र भारत गरी एक सय दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने अधिकारीले बताउनुभयो ।
प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ । ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् ।
प्रदर्शनीको उद्घाटन नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले गर्ने जनाइएको छ । प्रदर्शनीको उद्घाटन आइतबार दिउँसो हुने जनाइएको छ ।





प्रतिकृया दिनुहोस्