आनन्द पोखरेल
चितवन । कृषक अगुवाहरुले पशुपालनमा दूधको उत्पादन लागत घटाउँदै उत्पादन वृद्धिमा राज्यको भूमिका अपरिहार्य रहेको बताएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय डेरि प्रदर्शनीका क्रममा कृषक अगुवाहरुले राज्यले उत्पादनको आधारमा अनुदान दिए कृषकहरुको उत्पादन लागत न्यूनीकरण हुनेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष अमरबहादुर कुँवरले व्यवसायिक पशुपालनमा प्रविधि र ज्ञान वृद्धि गराउँदै लागत न्यूनीकरण गरी उत्पादन बढाउन कृषकहरु लाग्नुपर्नेमा जोड दिए । ‘उत्पादन लागत घटाउँदै उत्पादन बढाउन राज्यले पनि किसानलाई सहयोग गर्नुपर्छ’ उनले भने, ‘कृषकलाई उत्पादनका आधारमा अनुदान दिने, पशुपालनमा भित्रिएको नयाँ ज्ञान र प्रविधिबार राज्यले कृषकलाई जानकारी गराएर आवश्यक सहजीकरण गरिदिनुपर्छ ।’ व्यवसायिक कृषकलाई राज्यले अनुदान दिएरै भए पनि व्यवसायमा टिकाइराख्नुपर्ने कुँवरले बताए ।
‘किसानहरुले दूध बिक्रीवापतको रकम समयमा भुक्तानी नपाउने समस्या रहेको छ’ उनले भने, ‘यसको समाधानका लागि पनि राज्यले आवश्यक सहयोग गर्नुपर्छ ।’ नेपालमा पशुपालनमा भित्रिएका नयाँ प्रविधि जानकारी लिन भारत जानुपर्ने बाध्यता भएको अवस्थामा चितवनमा भएको डेरी प्रदर्शनीले स्वेदशमै बसेर पशुपालनका बारेमा धेरै ज्ञान, सीप र प्रविधि थाहा पाइएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । आगामी वर्षहरुमा थप नयाँ नयाँ प्रविधिहरु प्रदर्शनी गरी कृषकको उत्पादन लागत घटाउन तथा उत्पादन वृद्धिमा सहयोग गर्न उनले सरकारसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले किसानहरुको समस्याबारे मन्त्रालयमा छलफल गरी आवश्यक सहजीकरण गरिने बताए । ‘संघीय सरकारको कुल बजेटको करिब तीन प्रतिशतमात्रै कृषि क्षेत्रमा रहेको छ’ उनले भने, ‘यसलाई कम्तीमा पनि ६ प्रतिशत पु¥याउँदै प्रदेशले १० प्रतिशत र स्थानीय सरकारले १५ प्रतिशत बजेट कृषिका लागि छुट्याउनुपर्छ ।’ राज्यले कृषिको लागि काम गरिरहेको भन्दै सचिव खरालले अझै प्रभावकारी रुपमा गर्नका लागि तीन वटै सरकारले सहकार्य गरेर अगाडि बढ्ने बताए ।
नेपालमा धान उत्पादनमा भन्दा दूध उत्पादनमा सम्भावना र फाइदा भएको भन्दै उनले नेपालको अर्थतन्त्रलाई कृषितर्फ धानले भन्दा बढी फाइदा दूधले पु¥याएको बताए । ‘नेपालमा २० लाख बिघा क्षेत्रफलमा धान खेती हुँदा वार्षिक ५७ लाख मेट्रिकटन मात्रै उत्पादन हुने गरेको छ, जसको मूल्य करिब एक खर्ब ८८ अर्ब रुपैयाँ हुन आउँछ’ उनले भने, ‘तर नेपालमा पालिका ५० लाख पशुबाट वार्षिकरुपमा २७ लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको छ, जसको मूल्य एक खर्ब ७५ अर्ब रुपैयाँ हुन आउँछ ।’ नेपालमा ५० लाख पशुपालनका लागि एक लाख बिघा जमिन र पशु आहारका लागि थप चार लाख बिघा जमिन पर्याप्त भएकाले कृषितर्फ पशुपालनमा सम्भावना र फाइदा रहेको खरालले बताए ।
मन्त्रालयले प्राथमिकतासाथ कृषिमा बजेट, कार्यक्रम, योजना र नीति अगाडि बढाउने भन्दै उनले धानभन्दा बढी उत्पादन दिने क्षेत्र पशुपालनका मार्फत दूध उत्पादनलाई प्रथमिकता दिइने बताए । ‘मन्त्रालयले दूधको उत्पादन बढाएर युवा स्वरोजगार बढाउने गरी नीति अगाडि बढाएको छ’ उनले भने, ‘नेपाललाई दूधमा आत्मनिर्भर बनाएर विदेश निर्यात गर्नेगरी कार्यविधि तयार पार्दैछौँ ।’ दूध र दुग्धजन्य पदार्थ विदेश निर्यात गर्दा कृषकलाई अनुदान दिनेगरी कार्यविधि तयार भइरहेको उनले जानकारी दिए ।
कृषक, सहकारी, उद्योग र सरकार सहकार्य गरेर अगाडि बढेमा नेपालमा दुग्ध क्षेत्रको भविष्य उज्वल भएको उनले बताए । पशुपालनलाई सम्माजनक आयको क्षेत्रमा पु¥याउने, देशलाई दूधमा आत्मनिर्भर बनाइ निर्यात गर्ने, गुणस्तरीय सुलभ दुग्ध उपकरण उपलब्ध गराउने नीति राज्यले अवलम्बन गर्ने तयारी भइरहेको सचिव खरालको भनाइ छ । मन्त्रालयले मातहतका कार्यालयसँग सहकार्य गरी डेरी प्रदर्शनीलाई वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गर्ने पनि खरालले बताए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्राडा शरदा थपलियाले विश्वविद्यालयले विद्यार्थीहरुलाई पशुपालनका क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको बताइन् । विश्व स्वास्थ्य संगठनले वार्षिक रुपमा प्रतिव्यक्ति ९२ लिटर दूध आवश्यक पर्ने भनेको भए पनि नेपालमा ४२ लिटरमात्रै खपत भइरहेको भन्दै उनले दूधको खपत बढाउन ध्यान दिनुपर्ने बताइन् । ‘हामीले दूधको राष्ट्रिय खपत बढाउनुपर्छ, जसले कृषकहरुको उत्पादकत्व बढाउन पनि भूमिका खेल्छ’ उनले भनिन्, ‘दूधको उत्पादन लागत घटाउन गर्नुपर्ने उपाय, पशु आहार कम लागतमा उत्पादन गर्ने उपाय र अनुसन्धान कर्ममा विश्वविद्यालय लागीपरेको छ ।’
कार्यक्रममा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्ला दूध उत्पादन, संकलन र प्रशोधनका लागि गन्तव्य बनेका बताए । प्रदेश सरकारले दिएको उत्पादनमा आधारित अनुदानले कृषकहरुलाई दूध उत्पादनमा आकर्षित गरेको भन्दै उनले भने, ‘प्रदेशले दिएको अनुदान रकम पर्याप्त नभए पनि कृषकलाई व्यवसायमा टिक्नका लागि टेवा पु¥याएको छ ।’ पशु स्वास्थ्यका विषयमा खोप, रोग निगरानी, मोबाइल क्लिनिक पनि प्रदेशबाट उपलब्ध भइरहेको भन्दै उनले स्थानीय तह र संघीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताए ।
कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुने जानकारी दिए । व्यवसायिक रुपमा राम्रो नश्ल भएको गाई र यसको फाइदा एवम् दूध उत्पादनका क्षेत्रमा भित्रिएका नवीन प्रविधिको बारेमा कृषकलाई जानकारी दिनु प्रदर्शनीको मुख्य उद्देश्य भएको बगालेको भनाइ छ । प्रदर्शनीको अवसरमा पशुमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उनले बताए ।
यस प्रदर्शनीमा नेपाल र भारतका गरी एक सय वटा दुग्ध उत्पादक र प्रविधि कम्पनीको सहभागिता रहेको उनले जानकारी दिए । निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने उनको भनाइ छ ।





प्रतिकृया दिनुहोस्