एआई सिर्जित तस्बिर ।
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ ।
आज मङ्गलबार जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिता आकर्षित हुने गरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानार्कषण गरिएको बताउनुभयो ।
“हामीले कार्यक्रम गर्न रोक लगाएका छैनौँ” उहाँले भन्नुभयो, “तर, आचारसंहिता आकर्षित हुने गरी राजनीतिक दल वा उम्मेदवारको चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि पहिरन तथा स्टीकर, लोगो, झोला, व्याज जस्ता साङ्केतिक सामग्री प्रदर्शन गर्न पाइँदैन ।”
यसअघि विभिन्न जिल्लामा भएको लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा कार्यकर्ताहरु घण्टी बोकेर बजाउँदै व्याज लगाएर हिँडेका श्रव्यदृश्य सामग्रीहरु सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । निर्वाचन आचारसंहिता विरुद्धका गतिविधि उम्मेदवार वा अन्य कुनै पनि व्यक्तिले गर्न नहुने भन्दै सचेत बनाउन ध्यानाकर्षण गरिएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ । प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको उहाँले बताउनुभयो ।
निर्वाचन आचारसंहिता, २०८२ परिपालन सम्बन्धमा जारी गरिएको ध्यानाकर्षण पत्रका भनिएको छ, “उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीद्वारा जारी गरिएको ध्यानाकर्षण पत्र ।






प्रतिकृया दिनुहोस्