चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र बढ्दो सवारीसाधनको चापलाई व्यवस्थापन गर्न चितवन हुँदै बाहिरिने सम्पूर्ण सार्वजनिक सवारीसाधनलाई केन्द्रीय बसपार्क पुग्नुपर्ने नियम बनाइएको छ । शनिबार भरतपुरमा बसेको जिल्लास्थित यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर बजारमा जथाभावी यात्रु चढाउने र झार्ने कामलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बजारका विभिन्न स्थानमा रहेका टिकट काउन्टरलाई केन्द्रीय बसपार्कभित्र सार्नुपर्ने तथा जथाभावी यात्रु चढाउने र झार्ने काम बन्द गराउने निर्णय गरिएको बताए । ट्राफिक जाम न्यूनीकरण, सवारी व्यवस्थापन सुधार, ध्वनी प्रदूषण नियन्त्रण तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउन लामो दूरी, छोटो दूरी, मालवाहक, अटो, निजी सवारी, टिकट काउन्टर तथा सडक पूर्वाधार व्यवस्थापन सम्बन्धी आठ बुँदे निर्णय लागू गरिएको थापाले बताए ।
थापाकाअनुसार अब महानगर क्षेत्रभित्र सार्वजनिक तथा निजी सवारी साधनले अनिवार्य रुपमा तोकिएको बसपार्क, रुट र पार्किङ नियम पालना गर्नुपर्नेछ भने उल्लङ्घन गर्नेलाई कारबाही गरिनेछ । ‘लामो दूरीका यात्रुवाहक बस, मिनीबस, माइक्रोबसलगायत सवारी साधनलाई अनिवार्य रुपमा केन्द्रीय बसपार्क (पारस बसपार्क) वा नारायणगढ बसपार्कबाट मात्र यात्रु ‘पिक एण्ड ड्रप’ गर्नुपर्ने व्यवस्था गरिएको छ’ थापाले भने, ‘अबको एक हप्ताभित्र निर्णय पूर्णरुपमा लागू हुन्छ, काम सुरु भइसकेको छ ।’ नेपालको पूर्वी जिल्लाबाट काठमाडौँ, पोखरा तथा पश्चिमतर्फ जाने सवारी साधनले केन्द्रीय बसपार्कबाट यात्रु चढाएर तोकिएको चोक तथा बाइपास सडक प्रयोग गरी गन्तव्यतर्फ जानुपर्ने उनले बताए ।
पश्चिम क्षेत्रबाट चितवन हुँदै पूर्व तथा काठमाडौँ जाने सवारी साधनले समेत केन्द्रीय बसपार्कमै पुगेर यात्रु चढाएर बाहिरिनुपर्ने थापाको भनाइ छ । ‘चितवनबाट पूर्व र पश्चिमतर्फ जाने लामो दूरीका सवारी साधनले अनिवार्य रुपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु चढाउनुपर्नेछ भने बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लम्जुङतर्फ जाने बस तथा मिनीबसले नारायणगढ बसपार्कबाट क्यु लिई आँपटारी हुँदै सञ्चालन गर्नुपर्नेछ’ उनले भने, ‘महानगर क्षेत्रभित्र अन्यत्र यात्रु चढाउने वा ओराल्ने कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।’ रातको समयमा बसपार्कबाट सञ्चालन हुने बसहरु सम्बन्धित बसपार्कमै पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
स्थानीय रुटमा सञ्चालन हुने छोटो दूरीका बस, म्याजिक र अटो सञ्चालनलाई पनि व्यवस्थित गरिएको उनको भनाइ छ । भरतपुर महानगरको रिङरोड क्षेत्रमा सञ्चालन हुने म्याजिकले सम्बन्धित समितिले तोकेको पार्किङ स्थलबाट मात्र क्यु लिनुपर्ने भन्दै थापाले त्यसको जानकारी महानगर तथा ट्राफिक प्रहरीलाई दिनुपर्ने बताए । भरतपुरबाट पूर्वी चितवनतर्फ जाने सवारीसाधन तथा त्यहाँबाट भरतपुर आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्क हुने भन्दै थापाले त्यस्ता सवारीसाधनको अन्तिम गन्तव्य नारायणघाटको लायन्सचोक तोकिएको जानकारी दिए ।
नारायणघाटबाट छिमेकी जिल्लामा जाने बस तथा मिनीबस समेत केन्द्रीय बसपार्कबाटै सञ्चालन गर्नुपर्ने भन्दै थापाले बीचमा रोकेर यात्रु चढाउन नपाइने बताए । स्थानीय रुटको मिनीबस, म्याजिक र अटोले तोकिएको बसपार्क बाहेक अन्यत्र यात्रु चढाउने, ओराल्ने वा पार्किङ गर्न नपाउने व्यवस्था गर्दै स्थानीय सवारी साधनको ‘पिक एण्ड ड्रप’ स्थान महानगर, सडक डिभिजन, ट्राफिक प्रहरी र यातायात समितिको समन्वयमा निर्धारण गरिने थापाले बताए । भरतपुरबाट पश्चिम चितवनतर्फ जाने सवारी साधन चौबिसकोठी र लायन्सचोकबाट मात्र सञ्चालन गरिएको भन्दै थापाले ती सवारीसाधनहरु तोकिएको अन्तिम गन्तव्यसम्म पुग्न अनिवार्य पुग्नुपर्ने बताए ।
अटो तथा तीनपाङ्ग्रे सवारी साधनलाई थप व्यवस्थित गर्न अनिवार्य रुपमा सम्बन्धित यातायात प्रालिमा दर्ता भई प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रालिको सिफारिस बिना अटोको नवीकरण नगरिने र रुट तथा सेक्टर निर्धारण महानगर, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र प्रालिको सहकार्यमा गरिने उनको भनाइ छ । तीनपाङ्ग्रे साना सवारी साधनलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको थापाको भनाइ छ ।
त्यसैगरी, मालवाहक सवारीसाधन तथा लामा दूरीका सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पुल्चोक–आँपटारी सडकखण्ड प्रवेशमा रोक लगाइएको भन्दै थापाले ती सवारीसाधनले समेत केन्द्रीय बसपार्कचोक हुँदै बाइपास सडक प्रयोग गर्नुपर्ने जानकारी दिए । बजारमा हुने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गर्दै बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म बजार क्षेत्रमा मालसामान लोड–अनलोड गर्न समेत निषेध गरिएको उनको भनाइ छ ।
यसैबीच, भरतपुरको मुख्य बजार क्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रणका लागि गोन्द्राङदेखि पुल्चोक हुँदै आँपटारीसम्मको बजार क्षेत्रमा ‘हर्न निषेध’ गरिएको छ । यस क्षेत्रमा अनावश्यक मात्रामा हर्न बजाउँदा ध्वनि प्रदूषण भएको भन्दै अनावश्यक रुपमा हर्न बजाउन रोक लगाइएको थापाले बताए । हर्न निषेधका लागि बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार तथा साङ्केतिक चिन्ह राखेपछि यो निर्णय कार्यान्वयन गरिने भन्दै उनले महानगरले आवश्यक स्थानमा हर्न निषेधका ट्राफिक सङ्केत राख्ने जानकारी दिए ।
निजी तथा भाडाका सवारी साधनलाई पूर्व–पश्चिम राजमार्ग, पुल्चोक–आँपटारी सडक र बाइपास सडक किनारमा पार्किङ गर्न निषेध गरिएको छ । त्यस्तै पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, केन्द्रीय बसपार्क चोकलगायत स्थानमा रहेका विभिन्न यातायात कम्पनीका टिकट काउन्टर तथा शुल्क संकलन काउन्टर सात दिनभित्र हटाएर सम्बन्धित बसपार्कमै सार्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए । सडक पूर्वाधार व्यवस्थापनअन्तर्गत केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाइपास सडकका जोखिमयुक्त क्रसिङ बन्द गरिने र गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिने थापाले जानकारी दिए ।
भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा शनिबार भएको निर्णय कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गर्ने जानकारी दिए । आफ्नो क्षेत्रभित्रका सडक पूर्वाधार निर्माण र सुधारका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरी कामलाई अगाडि बढाउने उनको भनाइ छ । सवारीसाधन व्यवस्थापन सम्बन्धी गरिएको निर्णयले भरतपुर बजार क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी भई दुर्घटना न्यूनीकरण, जाम नियन्त्रण तथा सवारी सञ्चालन थप व्यवस्थित हुने अधिकारीले बताए ।





प्रतिकृया दिनुहोस्