नवलपुर । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
बिहीबार हुने निर्वाचनको लागि अब जिल्लामा मतदान गर्ने काममात्रै बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । बिहीबार हुने मतदानका लागि जिल्लाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदान केन्द्रको क्षेत्र तोक्ने कामलगायतका सम्पूर्ण तयारी सकिएको उनले बताए । मतदानका लागि आवश्यक पर्ने ५२ प्रकारका सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा तयारी अवस्थामा रहेका उनले बताए ।
जिल्लामा मतदानका लागि एक हजार ८६९ जना कर्मचारी परिचालन गरिएको भन्दै भुसालले जगेडा कर्मचारीसहित दुई हजार ५६ जना तयारी अवस्थामा राखिएको जानकारी दिए । निर्वाचनका लागि जिल्लामा पाँच हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।
नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन भएका जानकारी दिए । निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।
बिहीबार हुने मतदानका लागि दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान स्थलसहित जम्मा ११४ मतदानस्थलमा ३११ मतदानकेन्द्र कायम गरिएको छ ।
कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्नेछन् । सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ ।





प्रतिकृया दिनुहोस्