चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरेबापत रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले विगत ६ महिनादेखिको भुक्तानी पाउन सकेका छैनन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दुधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठुला दूध उद्योगले रकम भुक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् । उहाँले भन्नुभयो “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भुक्तानी बाँकी छ ।”
साना उद्योगले नियमित भुक्तानी गर्ने गरेको भए पनि ठुला उद्योगको भुक्तानी बाँकी रहेको अध्यक्ष बगालेले जानकारी दिनुभयो । जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ ।
यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । ती सहकारीले समयमा भुक्तानी नपाउँदा किसानलाई भुक्तानी गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् । रासस





प्रतिकृया दिनुहोस्