नवलपुर । नवलपुर क्षेत्र नम्बर १ का संघीय सांसद् राजन गौतमले गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना सञ्चालनको माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै गौतमले अर्थमन्त्री स्वर्णिम गौतमलाई सम्बोधन गर्दै कागज कारखाना सञ्चालनमा सरकारले चासो देखाउन आग्रह गरेका हुन् । उनले कागज कारखानालाई पूर्णरुपमा सञ्चालन गर्न वा वैकल्पिक व्यवस्था गर्न सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै, हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलाम खानी समेत तुरुन्त सञ्चालन गर्न माग गर्दै सांसद गौतमले खानी सञ्चालनका लागि सञ्चालनको नयाँ कार्यविधि र नयाँ लगानीको कार्यविधि बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
विशेष समयको सुरुमा नै उनले चैत २३ गते राति देवचुली १६ रजहरमा भएको हत्या सम्बन्धी घटनाबारे सरकारको ध्यानाकर्षण गराए । त्यस घटनामा भएको लुटपाट र हत्याले आफूलाई स्तब्ध बनाएको भन्दै सांसद गौतमले यस्ता जघन्य घटनाले पीडितलाई मात्रै सम्पूर्ण समुदायलाई त्रसित बनाएको बताए ।
उनले संसद्मार्फत नेपाल सरकार गृहमन्त्रालयलाई घटनाबारे निष्पक्ष, तीव्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कठघारामा ल्याउन ध्यानाकर्षण गराए । उनले जिल्लामा भूमिहीन समस्या भएको, कानुनी जटिलताका कारण लालपुर्जाबाट बञ्चित हुनुपरेको, बस्तीलाई सामुदायिक वनको सिमानाभित्र पारिएकोले ऐन संशोधन गर्नुपर्ने धारणा राखे ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिमांकनले धेरै जनताले सास्ती भोग्नुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । मध्यवर्तीका कारण यहाँ व्यापार तथा व्यवसाय सञ्चालन गर्न जटिल तथा झण्झटिलो बनाएको भन्दै यसलाई सरल बनाउन मध्यवर्तीको सीमांकन र ऐन संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।





प्रतिकृया दिनुहोस्