नवलपुर । नवलपुरको गैँडाकोटमा हुन लागेको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
चैत २८ गते शनिबार हुने महाधिवेशनका सन्दर्भमा जानकारी दिन आज (शुक्रबार) गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिष्ट्रिक्टले महाधिवेशनका लागि प्रतिनिधिहरु आउन सुरु भएको जानकारी दिएको छ । महाधिवेशनमा डिष्ट्रिक्ट अन्तर्गतका २०३ वटा क्लबबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले जानकारी दिनुभयो । क्लबले छनौट गरेर पठाएका २१० जना मतदाताले महाधिवेशनमा मतदानद्वारा डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर निर्वाचित गर्ने सापकोटाले बताउनुभयो ।
काठमाडौँ, ललितपुर, नवलपुर र चितवनका लायन्स क्लबहरु लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालमा आबद्ध रहेका छन् । देशभर लायन्स इन्टरनेशनलका १५ वटा डिष्ट्रिक्टरहरु रहेका छन् । डिष्ट्रिक्ट ३२५ आर नेपालको महाधिवेशन उद्घाटन अघि शनिबार बिहान क्लबका प्रतिनिधिहरु सहभागीले आफ्नो क्षेत्रको झाँकीसहितको ¥याली निकाल्ने सापकोटाको भनाइ छ ।
लायन्स इन्टरनेशनले समुदायमा स्वास्थ्य, शिक्षा, राहत र उद्दारलगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यस डिष्ट्रिक्टले सदस्यहरुबाट सङ्कलन भएको रकमबाट ललितपुरमा सामुदायिक स्वास्थ्य केन्द्र, चितवनको राप्ती र जनज्याति विद्यालयमा पूर्वाधार निर्माण, बाढीमा आपतकालीन राहत अनुदान, बकुलहर अस्पतालमा हेमोडायलासिस सुविधा, नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालस्थित प्रसूति वार्डका लागि रु ५० लाख बराबरको उपकरण उपलब्ध गराएको डिष्ट्रिक्ट गभर्नर सापकोटाले बताउनुभयो । जेनजी आन्दोलनमा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय चितवनलाई रु पाँच लाख बराबरको कम्प्युटर र प्रिन्टर, नवलपुरको मध्यविन्दु नगरपालिकाको चौरङ्गीमा आगजनीको घटनामा पीडितलाई राहत वितरण, बाढी प्रभावित काठमाडौँमा चार सय परिवारलाई १५ हजार डलर बराबरको राहत सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ ।
डिष्ट्रिक्टले वातावरण संरक्षण अभियान गो ग्रिन, १० बढीलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, पाँच हजार पिन्ट रगत सङ्कलन, ग्रामीण क्षेत्रका ५० हजार बढीलाई स्वास्थ्य शिविर उपलब्ध गराइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लायन्स इन्टरनेशन डिष्ट्रिक्ट ३२५ आर नेपालको चौथो राष्ट्रिय महाधिवेशन शनिबार नै सम्पन्न गर्ने गरी तयारी अगाडि बढेको भन्दै सापकोटाले सकेसम्म सर्वसम्मत नेतृत्व हस्तान्तरण गर्नेगरी पहल भइरहेको बताउनुभयो ।





प्रतिकृया दिनुहोस्