नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ ।
गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज –बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुगम पोख्रेलले साइकिलिङ वातावरणमैत्री यातायातको उत्तम साधन भएको बताउनुभयो ।
साइकिलिङले कार्बन उत्सर्जनलाई शून्य पार्ने भन्दै पोख्रेलले एउटा व्यक्तिले दैनिक साइकिल प्रयोग गर्दा कार्बनडाइ अक्साइड ग्यास अन्य साधन चलाउने व्यक्तिको तुलनामा ८४ प्रतिशत कम उत्पादन गर्ने बताउनुभयो । उहाँकाअनुसार नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुकमा साइकिल संस्कृतिले इन्धन खपत घटाएर स्वच्छ वातावरण निर्माणमा योगदान दिन्छ । ‘स्वच्छ वातावरण, स्वस्थ शरीर’, ‘साइकिलिङ र जलवायु परिवर्तन’ साइकिलिङको मुख्य नारा भएको पोख्रेलको भनाइ छ ।
देशभरीका हरेक व्यक्तिले प्रतियोगितामा सहभागिता जनाउन सक्ने भन्दै लियो क्लब अफ गैँडाकोट मौलाकालिकाका सचिव कृशिला सापकोटाले प्रतियोगितामा कम्तिमा एक सय जना सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले रु १५ हजार, तृतीय हुनेले रु १० हजार एवम् सान्त्वना पुरस्कार रु पाँच हजार रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तैगरी, स्थानीय साइकिलिङ प्रतियोगितातर्फ गैँडाकोटका प्रथम हुने व्यक्तिले रु १० हजार, द्वितीय हुनेले रु पाँच हजार, तृतीय हुनेले रु तीन हजार तथा सान्त्वना हुनेले रु दुई हजार पुरस्कार पाउने सापकोटाको भनाइ छ ।
साइकिलिङ प्रतियोगितामा निर्धारित दूरी सबैभन्दा पहिला पूरा गर्ने महिलाले रु पाँच हजार, सबैभन्दा कम उमेरको सहभागीले रु दुई हजार, सबैभन्दा बढी उमेरका सहभागीले रु दुई हजार तथा फरक शारीरिक क्षमता भएका प्रतियोगीले प्रोत्साहनस्वरुप रु दुई हजार पुरस्कार प्राप्त गर्ने सापकोटाको भनाइ छ । प्रतियोगितामा सहभागी हुन आफ्नो साइकल र हेलमेट अनिवार्य गरिएको भन्दै सापकोटाले प्रतियोगिता अवधिभरका लागि सहभागीको रु ५० हजार बराबरको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्