चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले वडामा घरवारविहीन अवस्थामा रहेका दुई परिवारलाई वडा नम्बर १२ को कालिका टोलमा रहेको शब्द चिन्तन संघको परिसरमा घर निर्माण गरि व्यवस्थापन गर्नुभएको छ ।
दुई परिवारलाई वडावासीको भव्य सहभागितामा एक समारोहकाबीच बाजागाजा तथा भजनकीर्तन सहित गृह प्रवेश गराइएको छ । कार्यक्रममा भवन निर्माण संयोजक शंकर थापाले वडा कार्यालयको रु तीन लाख ७५ हजार बजेट तथा सहयोगीहरुको सहयोग रकमबाट दुईकोठे भवन निर्माण भएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडाध्यक्ष पन्तले बेसाहारा र नागरिकताविहीन अवस्थामा रहेका वृद्ध रामप्रसाद पौडेल दम्पति गत वर्षसम्म आफ्नो वडामा भाडामा बस्दै आएको र उहाँहरुलाई गाँसकै समस्या भएको देखेपछि आफूले वडा तथा टोलवासीको सहयोगमा नागरिकता बनाउन सफल भएको बताउनुभयो ।
वडाध्यक्ष पन्तले तिनै परिवारलाई र हाल स्थायी बासस्थान निर्माण गरि गृहप्रवेश गराउन पाएको र शब्द चिन्तन संघको परिसरमा रहेको शिव मन्दिरमा पूजाआजा गर्दै आएका कृष्ण प्रसाद लोहनीको परिवारलाई पनि एक कोठा निर्माण गरि व्यवस्थापन गर्न पाएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो । आफ्नो सोच र सहयोग आवश्यक परिवारको अवस्थाका बारेमा जानकारी गराउँदा केही सहयोगी वडावासीले पलङ, दराज, ¥याक, सिरक डसना, झुल, भाँडावर्तन, टाबेल, खाद्यान्न आदि सहयोग गरि सम्पूर्ण आवश्यक सामग्रीको नयाँ सृष्टी गर्न सहयोग गर्नुभएकोमा आभार प्रकट गर्दै पन्तले आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा राख्नुभएको थियो ।
आवास प्राप्त गर्ने दुई परिवारले गृह प्रवेश गर्दैगर्दा खुशीका आँसु बगेको देखिन्थ्यो भने सबैलाई आभार प्रकट गद्र्रै विगतमा दुःख भए पनि भगवान्ले हेरेको, दानवीर मनकारीहरु भगवान बनेर आइ सहयोग गर्नुभएको भन्दै सबैलाई धन्यवाद दिनु भएको थियो । वडाध्यक्ष पन्तको अध्यक्षता तथा शब्द चिन्तन संघका संरक्षक लोकचन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य सञ्जय कुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै वडाध्यक्षको दिन दुःखीहरु प्रतिको भाव र व्यवहारको प्रशंसा गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्