नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्नेक्रममा आज (मङ्गलबार) दिउँसो ३ः३० बजे एकजना बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीकाअनुसार नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका हुन् । “दुई जना बालक नदीमा पौडी खेल्न गएका र एकजनाको उद्धार गरी अस्पताल पठाइएको छ” उहाँले भन्नुभयो, “बेपत्ता भएका बालकको खोजीकार्य जारी छ ।”
बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो । नदीमा पौडी खेल्न जानेक्रममा किनारमा खोलेर राखेको पोसाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उहाँले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्